दोलखा २८ साउन
ग्रामिण क्षेत्रका किसानहरुलाई व्यबसायीक बनाउन जाम , जेली र सस बनाउन ३ दिने तालिम प्रदान गरिएको छ ।
आफ्नै बारीमा उत्पादीत कृषिजन्य पदार्थहरुबाट बजार क्षेत्रमा प्रयोग हुने जाम जेली र सस बनाउन तालिम प्रदान गरिएको हो । लामो समयदेखि दोलखाको कालिन्चोक गाउँपालिका १ , ५ र ६ नम्बर वडामा एकिकृत सामुदायिक विकास कार्यक्रम गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्रले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम गराइएको संस्थाले जनाएको छ । कालिञ्चोक गाउँपालिका सँगको सहकार्यमा नामसालिङले साबिकको कालिन्चोक गाविसका ३२ जना अगुवा कृषकहरुलाई उक्त तालिम प्रदान गरेको हो । संस्थाका फिल्ड संयोजक राजन क्षेत्रीका अनुसार संस्थाले लामो समयदेखि कालिन्चोक १ मा व्यवसायीक गोलभेडा खेति लगाएत अन्य थुप्रै नगदेबाली उत्पादन गर्न किसानलाई सहयोग गर्दै आएको र उत्पादित कृषी उपजको लकडाउनका कारण बजारमा ल्याउन असहज भएपछि त्यस्ता सामाग्री निर्माणमा जोड दिइएको हो । क्षेत्रीले उत्पादित त्यस्ता कृषी उपजबाट बन्ने विभिन्न परिकार लामो समयसम्म प्रयोग गर्न मिल्ने र बजारको पनि सुनिश्चित हुने भएपछि उक्त कार्यक्रम आयोजना गरि किसानलाई सुसुचित गराउन खोजिएको प्रतिक्रिया दिए । उनले कोरोना भाइरस संक्रमण न्युनीकरण गर्ने सरकारी मापदण्डलाई मध्यनजर गरि सम्पुर्ण मापदण्डहरु अपनाएर मात्रै यस्ता कार्यक्रमहरु सन्चालन गरिएको प्रतिक्रिया दिए ।
जाम जेली सस उत्पादन सम्बन्धि तालिम पाएपछि किसानहरु उत्साहीत भएको कालिन्चोक सामुदायिक विकास केन्द्रले जनाएको छ । स्थानीय पुर्ण थामीले सबै बस्तु आयात गर्नुपर्ने बाद्यता भैरहेपनि आगामी दिनमा आफैं उत्पादन गर्न सकिने बताएका छन् । उत्पादित त्यस्ता सामानहरु नजिकैको बजार सिंगटी , चरिकोट तथा आसपासमा क्षेत्रहरुमा विक्रि गर्ने तयारी किसानहरुको छ । नामसालिङको सहयोगमा कालिन्चोकमा स्थानीय हाट बजारको समेत व्यवस्थापन भैसकेको बताउदै थामीले धेरैजसो सामानहरु स्थानीय हाटमानै विक्रिी हुने जानकारी दिए । कोरोना भाइरस कोभिड १९ का कारण स्थानीय स्तरमा उत्पादित सामाग्रीहरु बजारसम्म लैजान असहज भएपछि खेर जाने तरकारी तथा अन्य नगदेबालीहरुको उचित व्यवस्थापनका लागि यस्ता कामहरु नमुना भएको कालिन्चोक १ का वडाअध्यक्ष बाबुलाल थामीले जानकारी दिए । उनले गाउँको बिकासका लागि नामसालिङले महत्वपुर्ण भुमिका निर्बाहा गरेको जनाएका छन् ।