श्याम खतिवडा,
दोलखा ४ माघ,,
दोलखाको कालिञ्चोक गाउँपालिकामा निर्माण हुने भनिएको गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगिएको छ ।
स्थानीय अवरोधका कारण २ वर्षदेखि अलपत्र बनेको उक्त आयोजनामा शुक्रबार बसेको सर्बपक्षिय भेलाले विवाद समाधान गरेको हो । २०७८ जेठ मसान्त भित्र सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको उक्त आयोजना स्थानीय बासिन्दाबिच कुरा मिल्न नसकेपछि अलपत्र बनेको थियो । शुक्रबार दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी सहित आयोजना निर्माण स्थलमा भएको भेलाले स्थानीयहरुको आवश्यक मागको सम्बोधन निर्णय गरेपछि आयोजना निर्माणको बाटो खुल्ला भएको हो । भेलामा समन्वय समिति दोलखाका संयोजक डबल पाण्डे, कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी, उपाध्यक्ष कालिका पाठक लगाएत लापिलाङ र सुनखानीका स्नानीय सहित सरोकारवालाहरु सहभागी थिए ।
शुक्रबार आयोजना निर्माण हुने मुहान क्षेत्र गुमुखोलामा भएको भेलाले उपभोक्ता समिति पुर्नगठन गर्ने , दुबै क्षेत्रका स्थानीयहरु सहितको समिति निर्माण गर्ने , आयोजनाको बिचबिचमा चेम्बर हरु राख्ने जस्ता सहमति सहित विवाद टुंगिएको जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयले जनाएको छ । आयोजनामा आबश्यक जनशक्ति क्षमताका आधारमा स्थानयिलाईनै प्राथमिकता दिइने , क्षेती भएका संरचनाहरुको मर्मत तथा निर्माण गर्ने जस्ता सहमति भएको कार्यालयका प्रमुख इन्जिनियर मनिष महर्जनले जनाएका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ को पाटागाउँ, तल्लो लेप्टुङ सहित वडा नम्बर ७ को झमार्सी , तोरीखेत लगाएतका ठाउँमा सिञ्चाई गर्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त आयोजना मुहान क्षेत्र र आसपासका स्थानीयहरुबिच कुरा मिल्न नसकेपछि अलपत्र अवस्थामा थियो । ७.१ किलोमिटर लम्बाई रहेको गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको १६ सय मिटर क्षेत्रफलमा पाइप र बाँकी भागमा आरसिसि क्यानलको डिजाइन रहेको कार्यालयका इन्जिनियर नेत्र प्रसाद पौडेलले जानकारी दिए ।
२ वर्षअघि नेपाल सरकारको प्राथमिकतामा परेको उक्त आयोजना जिल्लास्थित जलस्रोत तथा सिञ्चाई विकास डिभिजनले ठेक्का आह्वान गरि २०७८ जेठ मसान्तभित्र सम्पन्न गर्ने गरि ठेकेदार कम्पनी वाइबा एण्ड लामा सँग सम्झौता गरेको थियो । कार्यालयले कम्पनीसँग ४ करोड ४१ लाख रुपैंयामा काम सक्ने गरि सम्झौता गरेको थियो भने झण्डै ५० लाख रुपैंया उपभोक्ता समिति मार्फत अन्य काम गर्ने गरि प्रकृया अघि बढाएको थियो । शुक्रबार भएको भेलामा एक साता पछिबाट आयोजना निर्माणको काम सुरु हुने सहमति भएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जनाएका छन् ।
फोटो
गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको मुहान क्षेत्र कालिञ्चोक गाउँपालिका ६ गुमुखोला । तस्बिर ः गौरीशंकर पोष्ट अनलाइन