Gaurishankar Post
नेपाल समाचार

चरिकोट अस्पतालको व्यवस्थापन एतिहासिक हस्तान्तरण

कार्तिक १७, दाेलखा

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  र न्याय हेल्थ नेपाल बीच  २०७२ साल माघ ५ गते (१९ जनवरी २०१६) मा अस्पताल व्यवस्थापनको सम्झौता भै नेपाल सरकारको सरकारी गैर सरकारी साझेदारी अवधारणा अन्तर्गत न्याय हेल्थ नेपाल को व्यवस्थापनमा संचालन हुँदै आएको प्रस्तावित चरिकोट अस्पतालको सेवा निरन्तरताको सुनिश्चितता सहित व्यवस्थापकीय जिम्मेवारी २०७७ साल कार्तिक १५ गते (३१ ओक्टोबर, २०२०) देखि  सरकारलाई  हस्तान्तरण (Hand over and Adoption) गरिएको छ ।

एक ऐतिहासिक निर्णय 

हस्तान्तरण पश्चात अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये ४० जनाले पालिका अन्तर्गत कार्य निरन्तर गर्नेछन् ।  विश्वव्यापी रुपमा नै साझेदारीको माध्यमबाट स्थापित नविनताहरू (innovations) लाई  सरकारले ग्रहण (Adoption) गर्ने कुरा असहज रहेको र नेपालको सन्दर्भमा त सम्भवत: नजीर नै नभएको  अवस्थामा भीमेश्वर नगरपालिकाले न्याय हेल्थ नेपाल अन्तर्गत कार्य गरेका कर्मचारीहरु मध्ये ठूलो संख्यामा कर्मचारी नियुक्तिका साथै विद्युतीय प्रणाली लगायतका स्वास्थ्य सेवा सुधारमा प्रणाली निर्माणका अवयवहरुको ग्रहण र निरन्तरता एक  ऐतिहासिक निर्णय बनेको छ । यसले न्याय हेल्थ नेपालको Design, Build, Operate, Transition (DBOT) मोडल सफलताका साथ लागु  भएको छ ।  सेवा निरन्तरता सुनिश्चित गर्ने गरि भएको यस निर्णयका लागि भीमेश्वर नगरपालिका प्रति आभार व्यक्त गर्दछौं ।

साझेदारीका उपलब्धि

साझेदारीको यस अवधिमा हामीले ३ लाख ३५ हजार भन्दा बढी मानिसहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेका छौं, १९ वटा स्वास्थ्य चौकीहरू पुनर्निर्माण गरेर स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितताका साथ स्थानीय सरकारहरूलाई हस्तान्तरण गरि सकेका छौं भने आधुनिक विद्युतीय प्रबिधिको संचालन, कार्य सम्पादनमा आधारित आन्तरिक प्रणालीको विकास, तालिम र प्रशिक्षणको व्यवस्था, सामुदायिक स्वास्थ्य सेवाको विस्तार, मानसिक स्वास्थ्य सेवा, अस्पतालको पूर्वाधार निर्माण, उपकरण र सेवाहरूको विस्तार, कोभिड१९ प्रतिकार्य, र सेवाको गुणस्तर सुधार जस्ता महत्वपूर्ण कार्य गर्न सफल भएका छौं । यसबाट समग्र रुपमा त्यस क्षेत्रको स्वास्थ्यमा सुधार आएको छ।  यसका लागि अहोरात्र खटेर काम गर्ने हाम्रा कर्मचारी साथिहरूलाई बिशेष धन्यवाद तथा प्राप्त  उपलब्धिहरूको लागि बधाई छ ।  यस बीच  हाम्रा उपलब्धिहरुका साथै adoption कार्यक्रमलाई निर्बिघ्न सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा स्वास्थ्य सेवा निर्देशक डा. विनोद दंगाल  लगायत संलग्न सबै साथीहरूमा बिशेष धन्यबाद  छ ।

न्याय हेल्थ नेपालले दोलखा जिल्लामा कार्य शुरु गरे देखि हाल सम्म निकै सकारात्मक परिवर्तन भएका छन् । यस अवधिमा न्याय हेल्थ नेपालले दोलखा जिल्लामा सेवा संचालन व्यवस्थापनका लागि रू ७८ करोड लगानी गरेको छ भने नेपाल सरकारले  सामुदायिक अस्पताल अनुदान, औषधि र उपकरण आपूर्ति , मानव संसाधन आपूर्ति तथा प्रादेशिक अस्पताल घोषणा गरेको छ । यसबाट हाल संचालित सेवाहरुको निरन्तरताका लागि प्रदेश सरकारबाट थप लगानी हुनेछ । कोविड१९ का कारण पनि स्वास्थ्य क्षेत्रमा सरकारी लगानी थप भएको छ । यसका साथै संघीयताले हरेक पालिकालाई वित्तीय स्रोतहरू सहित स्वास्थ्य प्रणालीमा सुधार गर्ने अवसर प्रदान गरेको छ। आम गागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको छ भने जिल्लाको स्वास्थ्य अवस्थामा सुधार भएको छ । यसका साथै भूकम्प पछि स्वास्थ्य प्रणाली पुनर्निर्माण (building back better) गर्ने हाम्रो प्रतिबद्धता पूरा भएको छ ।

हस्तान्तरण र भविष्य

हस्तान्तरणको क्रममा न्याय हेल्थ नेपालले रु. ६ करोड २६ लाख ७७ हजार १५०  बराबरको स्थिर सम्पत्ति, औषधि तथा अन्य उपभोग्य सामाग्रीहरु (fixed assets and consumables), विद्युतीय प्रणाली (digital systems), सेवा व्यवस्थापन र गुणस्तर सुधारका लागि संकलन गरिएका बिरामीका सम्पूर्ण विवरण र तथ्याङ्कको स्वामित्व भीमेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । तत्कालिन अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्झौता भएता पनि राज्यको विकेन्द्रीकरण संगै स्वास्थ्य सेवा पनि तहगत रुपमा केन्द्र, प्रदेश, र स्थानीय सरकार अन्तरगत संचालन हुने व्यवस्था भए वमोजिम प्रस्तावित चरिकोट अस्पताल पालिका सरकारको मातहत रहेको र हालै यस संस्थालाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने गरि बागमती प्रदेश सरकारले नीतिगत निर्णय गरि सकेको भएता पनि त्यसको कार्यान्वयनको प्रक्रियामै रहेको सन्दर्भमा न्याय हेल्थ नेपाल र भीमेश्वर नगरपालिका बीच हस्तान्तरण कार्य सम्पन्न भएको हो । 

हस्तान्तरण पश्चात पनि न्याय हेल्थ नेपालले केहि सहकार्य भने जारि राख्नेछ।  यस अन्तर्गत विद्युतीय प्रणाली (EHR) व्यवस्थापन, गुणस्तर मुल्यांकन तथा सुधारका लागि आवश्यकता अनुसार कम्तिमा आर्थिक बर्ष २०७७/७८ को अन्त्य सम्म न्याय हेल्थ नेपालले प्राविधिक सहयोग प्रदान गर्नेछ  ।  यसका साथै हाल संचालित पुरा हुन बाँकि लगायतका अनुसन्धान परियोजनाहरुको लागि आवश्यक तथ्याङ्क प्रयोग गर्न भीमेश्वर नगरपालिकाले न्याय हेल्थ नेपाललाई अनुमति प्रदान गर्नेछ ।  

विदाई कार्यक्रम

यस सन्दर्भमा स्थानीय सकारहरूले २०७७ असोज ३० गते एक समारोह बीच न्याय हेल्थ नेपाललाई हाल सम्म पुर्याएको योगदानको कदर गर्दै कदर पत्रहरु सहित  बिशेष धन्न्यवाद ज्ञापन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुखज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भिमेश्वर, कालिंचोक,  तामाकोशी, लगायतका पालिका प्रामुख र प्रतिनिधिहरुको उपस्थिती थियो। कार्यक्रममा उपस्थित व्यक्तित्वहरुका केहि भनाइहरू तल उल्लेख गरिएका छन्। 

“न्याय हेल्थ नेपालको टीम असाध्यै मेहेनेती र सधैं युद्ध अभ्यासमा रहेको देखियो।  सधैं सबै जना तयार रहने र एकसाथ काममा लाग्ने । स्वास्थ्यमा न्याय दिने नाम अनुसार को काम गर्ने संस्थाको रुपमा पाएँ।  अस्पतालमा र समुदायमा सेवा दिई हाम्रो क्षेत्रमा त शतप्रतिशत संस्थागत सुत्केरी गराउनु भयो।  शब्दमा नअटाउने उच्च सम्मान छ।”  कालिका पाठक, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष

“धेरै गर्नु भा’थ्यो।  पूर्णकाल सहयोग गर्न सकेको भए हुन्थ्यो ।  फेरि बन्ने कार्यक्रमका लागि सिकाइका रुपमा लिनु होला ।  काम अति राम्रो ।  फेरि के गर्न सकिन्छ हेर्नु होला र बताउनु होला।” तामाकोशी गाउँपालिका अध्यक्ष – ईश्वरचन्द्र पोखरेल

“दोलखा र छिमेकी जिल्ला लाई पनि प्रसंशनीय सेवा पुरयाउनु भयो। संबिधान प्रदत्त नि:शुल्क स्वास्थ्य सेवाको प्रत्याभूति गरेकोमा सुरज वैद्य, एसपी कलौनी, डा बिनोद दंगाल लगायत सम्पूर्ण न्याय हेल्थ नेपाल टीमलाई धन्यबाद । पालिकाले  यसलाई निरन्तरता दिन्छ। कार्यरत कर्मचारीहरूलाई प्रक्रियागत रुपमा राख्छौं । पालिकाहरूको संयुक्त कोष शुरु गरिसकेका छौं।  त्यसबाट बिपन्न परिवारलाई नि:शुल्क सेवा पनि प्रदान गर्छौं।  यहाँहरुको भूमिकाको उच्च मुल्यांकन गर्दै, सेवाको क्षेत्र भएकोले आगामी दिनमा पनि सहकार्यको आशा गर्दछौं।”  भरत के. सी. नगर प्रमुख, भीमेश्वर नगरपालिका

“गैर सरकारी संस्थाले गर्ने सरकारको सहयोगीको अशल भूमिका निभाउनु भयो। यस बिदाईलाई फुल स्टप नमानी कमा नै मानौं।  दोलखाली जनताले यहाँ हरूलाई माया गरेका छन् । परिस्थिति अनुकूल  हुँदा थप काम गर्न आउनु होला।”  डबल पाण्डे, प्रमुख, जिल्ला समन्वय समिति, दोलखा

“हाम्रो शब्द भन्दा ठुलो आभार र धन्यबाद बिरामीहरूबाट पाउनु भएको छ। भविष्यमा पनि दोलखा छनोटमा परोस।”  कमला बस्नेत, उप प्रमुख  भीमेश्वर नगरपालिका

अन्तमा, सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापन र त्यसमा नवीनता थप्न विश्वास गर्नुहुने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार, भीमेश्वर नगरपालिका लगायत स्थानीय सरकारहरु, सहयोगी र मार्गनिदेशक सम्पूर्ण सरोकारवालाहरु, सहयोगी दाताहरु, अहोरात्र खटेर कार्य गर्ने सम्पूर्ण कर्मचारी साथीहरू नागरिक समाज सम्पूर्णमा न्याय हेल्थ नेपाल हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा सर्बाधिक राशिको स्व.नन्दप्रसाद स्मृति पत्रकारिता पुरस्कार घोषणा

shyam khatiwada

दोलखामा ९६ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइने

shyam khatiwada

मुलुककै प्राचिन शहरको रुपमा दोलखा बजारको विकास गर्छौं – भरत प्रधान

shyam khatiwada
Gaurishankar Post