दोलखा ६ फागुन,,
दोलखाको विकट भनिने उत्तरी गाउँ आलम्पुका २ सय ४० जेष्ठ नागरिक र चरिकोटस्थित बालगृहका ३० जना अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
७० वर्ष पुरा भई सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिक र गौरीशंकर बालगृहका अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । फागुन लागिसक्दा पनि हिमालको चिसो सिरेटोले कान सेक्ने गरेको सुनाउदै दोलखाको विगु गाउँपालिकास्थित आलम्पु गाउँकी ९४ वर्षिया आइतिमायाँ थामीले खुसी हुँदै भनिन् “अब त जाडो काटिन्छ ” । उनी जस्ता २ सय ४० जना जेष्ठ नागरिकले बुधबार जिल्लाको आलम्पु गाउँमा आयोजित एक कार्यक्रममा न्यानो कपडा ज्याकेट पाए ।
राज्यले दिने सामाजिक सुरक्षा भत्ताले जेनतेन खानको बेजो भएपनि विकट गाउँका थामी समुदयका जेष्ठ नागरिकहरुलाई रहर लाग्ने न्यानो कपडा किनेर लगाउन भने निकै समस्या छ । बढ्दो महंगी त्यो पनि बजारसँगको पहँच नभएकै कारण चिसोमा कठिंग्रीनुपर्ने बाद्यता देखेर चरिकोटस्थित दुई जना युवा व्यवसायीहरुले व्यक्तिगत खर्चमा बुधबार आलम्पुका २ सय ४० वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरे । विगु गाउँपालिका ७ स्थायी घर भएका व्यवसायी दावासांगे शेर्पा र भिमेश्वर नगरका कर्मा शेर्पाले संयुक्त रुपमा ज्याकेट खरिद गरि गाउँमा लगेर जेष्ठ नागरिक बृद्ध बृद्धालाई वितरण गरेका हुन ।
बुधबार कांग्रेसका स्वर्गिए नेता भिम बहादुर तामाङको स्मृतिमा बनेको कांग्रेस कार्यालय भवन उद्घाटन कार्यक्रममा उनिहरुले न्यानो कपडा वितरण गरेका हुन् । भवन उद्घाटन गर्न पुगेका कांग्रेस नेता एवं सांसद जिपछिरिङ लामाको हातबाट ज्याकेट वितरण गराएका उनिहरुलाई सांसद लामाले पबित्र काम गरेको भन्दै निकै प्रसंसा गरे । उनले जेष्ठ नागरिक समाजका गहना भएको भन्दै सबैले सम्मान गर्नुपर्ने जनाए ।
तिनै युवाहरुले बिहिबार चरिकोटस्थित गौरीशंकर बालगृहमा आश्रय लिएर बसेका ३० जना अनाथ बालबालिकाहरुलाई पनि एक एक थान ज्याकेट बाँढेका छन् । उनिहरु दुवै जना क्तसर तथा निर्माण व्यवसायी हुन् । व्यवसाय सँगै उनिहरु दुबै जना राजनीतीमा पनि कृयाशिल छन् । दावासांगे शेर्पा तरुण दल दोलखाका अध्यक्ष हुन भने कर्मा तरुण दलकै जिल्ला नेता हुन् । तर सामाजिक काममा आफुहरुको कुनै राजनीतिक स्वार्थ नरहेको उनिहरुको भनाई छ । उनिहरुले यसअघि पनि सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेका छन् ।