श्याम खतिवडा
दोलखा ११ साउन,,
दोलखा भीमेश्वरको शीलामा एक साता भित्रै दुई पटक पसिना आएपछि शुक्रबार राष्ट्रप्रमुखको तर्फबाट विशेष पूजाआजाका साथै क्षमापूजा गरिएको छ ।
मन्दिरको शिलामा पसिना आएपछि राष्ट्र र जनतामा कुनै अनिष्ट नहोस भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट विशेष पुजाआजा सहित क्षमापुजा गरिएको हो । राष्ट्रपति कार्यालयका प्रतिनिधि सहित दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा शुक्रबार मन्दिर परिसरमा क्षमापूजा गरिएको हो । राष्ट्रप्रमुखको तर्फबाट फुलपाती लिएर उपसचिव नेतृत्वको टोली पनि क्षमापूजामा सहभागी भएको र दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफैं कर्ता बसेर क्षमापुजा गरेका थिए । क्षमापुजामा हवन यज्ञ, ग्रह शान्ति, मंगल शान्ति लगायत रुद्री पाठ तथा विशेष पूजा सहितको कर्महरु गरिएको पुजामा संलग्न पुरोहितहरुले जनाएका छन् । क्षमापूजामा ११ पुरोहित ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा अविच्छिन्न जलधारा सहित लघुरुद्री पाठ गरेका थिए । यस्तै मन्दिर परिसरमै यज्ञ होमाधी गरिनुका साथै मुलुक शान्तिको कामना गर्दै माङ्गलिक दोष शान्ति सहित ग्रह पूजा समेत गरिएको छ ।
यस्तै सरकार र स्थानीय जनताको तर्फबाट दुई जोर कालो बोका बली दिएर बली पूजा समेत गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिए । क्षमा पूजाको सम्पूर्ण खर्च राष्ट्रपति कार्यालय र सरकारले बेहोर्ने जनाइएको छ ।
राष्ट्र, राष्ट्र प्रमुख र जनतामा कुनै क्षति नहोस् भन्ने कामनाका साथ राष्ट्र प्रमुख, जनता र मन्दिर व्यवस्थापन समितिको तर्फवाट आज भीमेश्वर मन्दिरमा बलिपूजा सहित क्षमापूजा गरिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितका सचिब राजेन्द्र नारायण श्रेष्ठले जानकारी दिए ।
भीमेश्वरको शीलामा साउन ५ गते र साउन ९ गते दुईपटक पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र प्रमुखकोमा ‘महाप्रसाद’ पठाउने र राष्ट्र प्रमुखकोतर्फवाट सरकारी अधिकारीले क्षमापूजा गराउने प्रचलन छ । शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ । पसिना आउँदा भीमेश्वरको सिला कालो र चम्किलो हुने गर्दछ । पसिना आउँदा मन्दिरका घण्टीहरू निरन्तर बजाइन्छ । मानिसहरूलाई झैँ तप तप खस्ने पसिना सेतो कपासले पुछ्ने गरिन्छ । पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्रपतिकाहाँ पु¥याएपछि राष्ट्रपति कार्यालयले क्षमा पूजा पठाउने चलन छ । उक्त कपास सर्वसाधारणलाई समेत बाँड्ने गरिन्छ । यस अघि राजसंस्था हुँदा राजदरबारबाट राजाले क्षमा पूजा पठाउने चलन थियो ।
यस अघि शिलामा पसिना आउँदा कस्ता घटना भएका थिए
क्षमापूजा गर्नुअघि भीमेश्वर मन्दिर परिसरसमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले मन्दिरको ईतिहाँस, शिलामा आउने पसिना, यसको महत्व र यसअघि पटक पटक पसिना आउँदाको परिणामबारे जानकारी गराएका थिए । उनका अनुसार पहिलोपटक १९९० मा पसिना आउँदा महाभुकम्प, १९९७ मा नेपालका प्रजातान्त्रिक योद्धाहरुलाई फाँसी , २००७ मा प्रजातन्त्र प्राप्तीका लागि क्रान्ति , २०११ मा राजा त्रिभुवनको मृत्यु २०१५ मा जनताको प्रजातन्त्र खोसिएको , २०१७ मा पनि प्रजातन्त्रमाथी आक्रमण ,२०१८ मा भीषण बाढी पहिरो , २०३५ मा जनआन्दोलन र जनमत संग्रह , २०४५ मा भुकम्प र बाढीले जनधनको क्षती , २०४६ मा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदल प्राप्त , २०५७ को पसिनाका कारण ०५८ मा राजदरबार हत्याकाण्ड २०६१ मा पसिना आउँदा ०६२ मा जनआन्दोलन र लोकतन्त्र प्राप्त २०६४ मा राजतन्त्रको अन्त्य गणतन्त्र प्राप्त , २०७० मा मन्दिरको चुडामणी ढलेको , २०७१ को पसिना पछि ०७२ को महाभुकम्प , २०७४ मा बिशेष राजनीतिक परिवर्तन राष्ट्रपतिको चयन २०७६, ०७७ र ०७८ मा लगातार ३ वर्ष पसिना आउँदा तिन पटकको कोरोना महामारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भर्खरै साउन ५ गतेको पसिनालाई विमान दुर्घटनासँग तुलना गरिएको छ भने थप अनिष्टको समेत संकेत हुनसक्ने अनुमान गरिएको छ ।
फोटो
मन्दिरको शिलामा दुईपटक पसिना आएपछि राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्दै पुरोहितहरु । gaurishankarpost.com।