दोलखा २६ माघ
हिमाली जिल्ला दोलखामा ९६ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
दोलखाका सबै स्थानीय तहका ९६ हजार भेडाबाख्रालाई मंगलबारदेखि पिपिआर रोग विरुद्धको खोप लगाउन सुरु गरिएको हो । जिल्लाको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा मार्फत सबै भेडा बाख्राहरुलाई मंगलबारदेखि निशुल्क पिपिआर रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । चरिकोटस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप अभियान सुरु भएको जनाएको छ । कार्यालयका सुचना अधिकारी डा. निशान्त शर्माले जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सुरुवात भएको जानकारी दिए ।
भेडा वा बाख्रामा लाग्ने घातक रोग बाट सुरक्षित राख्न पिपिआरको खोप अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । पिपिआर खोप कार्यक्रमका लागि जिल्लामा ३ दर्जन भन्दा धेरै प्राविधिक खटिएका छन् भने १० हजार ६ सय भ्याक्सिन आएको उपलब्ध भएको छ । कार्यालयले किसानका घरमै पुगेर भेडाबाख्रालाई खोप लगाउने तयारी गरेको छ । बागमती प्रदेशको कृषि मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपिआर नियन्त्रण गर्न सबै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै दोलखामा पनि मंगलबारदेखि सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन भएको हो ।