Gaurishankar Post
नेपाल समाचार समाचार

दोलखा सिंगटी सडकको हालत, पोखरीमा डुबुल्कीदै दौडिन्छन सवारी


श्याम खतिवडा
दोलखा १७ साउन
,,,
सडक विभागले ७० करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ ।
जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग दोलखा–सिँगटी सडकमा गरिएको कालोपत्रे निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै भत्किएको हो । कालोपत्रे भत्किएर बनेका दर्जनौं पोखरीमा डुबुल्की मादै सवारी सञ्चालन हुँदा यात्रुले हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ । सडक विभागले छुट्टै आयोजना बनाएर २०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो । सडक निर्माणको ठेक्का पाएको कम्पनीले दुई वर्ष अघि कालोपत्रे गरेर डिभिजन सडक कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको थियो । तर डिभिजन सडक कार्यालयले उक्त सडकको मर्मत तथा व्यवस्थापनमा चासो नदिएपछि तहसनहस हुने गरी भत्किएको छ ।
अहिले कालोपत्रे गरिएका प्रायः सबै मोडमा ठुला ठुला खाल्डा परेका छन् । दोलखा बजारदेखि सिँगटीसम्मका झण्डै दुई सयभन्दा धेरै ठाउँमा ठूलासाना खाल्डा परेका छन् । वर्षातको पानीले ति खाल्डामा पानी जम्दा सडकमा ठुला ठुला पोखरी बनेका छन् । एकाध वर्षमै सडक भत्किएपछि यसको गुणस्तरबारे आशंका उब्जेको छ । स्थानीय बासिन्दाका अनुसार सडक यही गतिमा भत्कँदै गए ६ महिनामै कतै पनि कालोपत्रे बाँकी रहने छैन । दोलखा बजारको डिलबाट उकालो चढेपछि चार्थली हुँदै राम्पासम्म पुग्दा सडकका कतिपय स्थानमा फराकिला खाल्डा देखिन्छन् । यस्तै कुथली, क्षमावती, सुन्द्रावती, सुनखानी , बन्चरे लगायत स्थानमा पनि कालोपत्रे उप्किएर अस्त व्यस्त बनेको छ । सडक अस्तव्यस्त हुँदा यात्रु देखि सवारी साधनमा समेत ठुलो क्षेती पुग्ने गरेको भीमेश्वर वितरक संघका पुर्व अध्यक्ष समेत रहेका दोलखाका व्यवसायी बिबेक केसीले बताए । उनले सडकको यो अवस्था हुँदा डिभिजन सडक कार्यालय कानमा तेल हालेर बसेको आरोप समेत लगाएका छन् ।

एसियाली विकास बैंकको सहयोगमा ७० करोड रूपैयाँ खर्चेर दुई वर्षअघि सडक कालोपत्रे गरिएको थियो । ३५ किलोमिटर लामो यो सडक अहिले जताततै भत्किएको छ । २० वर्षअघि तत्कालीन जिल्ला विकास समितिले यो सडकको ट्रयाग खनेको थियो, पछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले करिब एक अर्ब रूपैयाँ खर्च गरेर ग्राभेल गरि सञ्चालनमा ल्याएको थियो । भूकम्पपछि आएको दाताको सहयोगअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सरकारले यो सडक कालोपत्रे गराएको थियो । डिबिएसटी प्रविधिको कालोपत्रे गरिएको यो सडक किन यति छोटो समयमै भत्कियो भन्ने चर्चा चौतर्फी रुपमा हुने गरेको छ । सडक विभागका अधिकारीहरुका अनुसार पहाडी भूभागमा गरिने कालोपत्रेमा प्रायः यही विधि अपनाइन्छ । उनीहरू यो प्रविधि कमजोर नभएको दाबी गर्छन् । अलकत्रा, गिटी, धुलोसहित सबै सामग्रीको समिश्रण मिलेमा र भौगोलिक बनावटले समेत साथ दिए यो विधि प्रयोग गरेर बनाइएका सडक मजबुत हुने उनीहरूको भनाइ छ । तर निर्माण गर्दा मिसावटमा ध्यान नदिएकै कारण कालोपत्रे चाँडै भत्किएको हुनसक्ने अनुमान उनिहरुको छ ।
मर्मत गर्न प्रकृया सुरु भयो कार्यालय
डिभिजन कार्यालयका दोलखाका प्रमुख अर्जुन सुवालले दोलखा–सिँगटी सडकको कालोपत्रे भत्किँदै गएको स्वीकार गरे । ‘कमसल कामले सडक भत्किएको हैन’, उनले भने, सडकको भौगोलिक बनावट पनि त्यस्तै छ हामी मर्मतको तयारीमा छौं । सुवालले उक्त सडक मर्मत गर्न ठेक्का प्रकृया सुरु भैसकेको बताउदै केही दिनभित्रै खरिद सम्झौताका लागि कम्पनी छनोट हुने बताए । डिभिजन प्रमुख सुवालले नियमित मर्मतको प्रयास गरेपनि धेरै ठाउँमा समस्या आएको बताउदै निर्माण व्यवसायीबाटै मर्मत गराउन प्रकृया थालनी भएको बताएका छन् ।
फोटो
कालोपत्रे गरिएको दुई वर्षमै उप्किएर पोखरी बनेको दोलखा–सिँगटी सडकको क्षमावती खण्ड । तस्बिर Gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको चरणावतीमा नवाहा ज्ञान महायज्ञको तयारी तिब्र

shyam khatiwada

देशैभर आंशिक रूपमा खुल्न थाले पसल : व्यवसायीले खोल्ने, प्रहरीले बन्द गराउने क्रम जारी

shyam khatiwada

सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग

shyam khatiwada
Gaurishankar Post