दुई करोडको लगानीमा बाख्रा फार्म
श्याम खतिवडा,गौरीशंकरपोष्ट
दोलखा १६ जेठ
दोलखाको भीमेश्वर नगरपालिका ७ स्थित उखुबारीका दुई युवाले दुई करोडको लगानीमा आफ्नै गाउँमा व्यवसायीक बाख्रा पालन सुरु गरेका छन् ।
रोजगारीको सिलसिलामा कोरीया बस्ने देखी राजधानी काठमाडौंमा बसेर राम्रो व्यवसाय सञ्चालन गर्दै आएका युवाहरु गाउँ फर्किएर करोडौंको लगानीमा कृषि फार्म चलाउन सुरु गरेका हुन् । आफ्नै जन्मभुमीमा कृषि र पशुपालनको प्रबद्र्धन गरि रोजगार शिर्जना गर्ने उद्देश्यले उनिहरु गाउँ फर्किएर व्यवसायीक कृषि र पशुपालनको काममा सकृय भएर लागेका छन् । भीमेश्वर ७ का शैलेस केसी र अर्का युवा सुजन कार्कीले कोरोना भाइरसका कारण लामो समयको बन्दाबन्दीले बाह्य क्षेत्रका पेशा व्यवसाय दिर्घकालिन नहुने निष्कर्श निकाल्दै गाउँमै नयाँ कामको सुरुवात गरेको बताए । उनिहरुले गत वर्षको फागुन महिनाबाट आफ्नै गाउँमा बाँझो रहेको जमिनको सदुपयोग गर्दै आधुनिक प्रविधिको बाख्रा फार्म सुरु गरिसकेका छन् । बन्दाबन्दीकै समयमा उनिहरुले झण्डै ३ सय ५० बाख्रा अट्ने खोर बनाएर गत मंसिरबाट बाख्रा पालन सुरु गरिसकेका छन् । उनिहरुले चितवनस्थित बगैंचा फार्मबाट २८ वटा बोयर भनिने उन्नत जातको बाख्रा ल्याएर सुरु गरेको फार्ममा अहिले ४० भन्दा धेरै बाख्राहरु छन् । शैलेसका अनुसार बोयर र खरी जातका बाख्राहरु क्रस गराएर अर्को वर्ष थप खरिद सहित २ सयको संख्यामा बाख्रा पालन गरिने तयारी छ । बाख्रापालनबाट आम्दानी सुरु भएपछि राजधानी काठमांडौ सहित आसपासका ठुला शहरहरुमा निर्यात गरिने सञ्चालक केसीले बताए ।
उनिहरुले अहिले ६ जनालाई रोजगारी दिएका छन् । उखुबारी क्षेत्रमा बाँझो रहेको झण्डै ५० रोपनी क्षेत्रफलको जग्गामा खोरको संरचना सहित अन्य पुर्वाधारहरु निर्माण गरिएको र थप संरचनाहरु निर्माणको काम भैरहेको केसीले बताए । बाख्रालाई नियमित घाँसका लागि झण्डै १ सय ५० रोपनी जग्गामा भटाँसे, सुपर नेपिएर लगाएत डाले घाँस लगाइएको र त्यसले उत्पादन दिन थालिसकेको छ । उनिहरुले उक्त क्षेत्रमा लोकल कुखुरा, एग्रोफार्म सहितको कृषि उत्पादन केन्द्र बनाउने तयारी गरेका छन् । समाजमा लोप हुन लागेका अन्नबालीहरु कोदो फापर जहु लगाएत अन्य थुप्रै अन्नबाली उत्पादन गरि बजार निर्यात गर्ने र अधिकांस कृषकहरुलाई व्यवसायीक कृषितर्फ आकर्शणका लागि आफुहरुले उक्त काम सुरु गरेको उनिहरुले बताएका छन् । कृषि फार्मको संरचना निर्माण देखि यो अभियानसम्म आइपुग्दा झण्डै २ करोड बजेट खर्च भैसकेको उनिहरु बताउछन् । अहिलेसम्म आफ्नै लगानीले याहाँसम्म आइपुगेपनि अब भने बैंकमा लोनका लागि दौडनुको विकल्प नभएको शैलेसले बताए । उनका अनुसार पछिल्लो समय चरिकोटका बैंक तथा वित्तिय संस्थाहरुमा कर्जाका लागि पहल गरिरहेका छौं ।
शैलेस राजधानीमा शैक्षिक परामर्श सेवा सम्बन्धी व्यवसाय र काठमाडौं विस्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् भने अर्का युवा सुजन कोरियामा माशिक ३ लाखको कमाई छोडेर यो पेशामा होमिएका हुन् । उनिहरुको यो अभियान देखेर दोलखाका अधिकांस मानिसहरु चकित मात्रै छैनन् उनिहरुबाट केही सिक्नुपर्ने भन्दै नतमस्तक छन् । भीमेश्वर नगरपालिका ३ का राजेश श्रेष्ठले दुई युवाको यो पौरख र नमुना कामबाट आफु प्रभावित भएको बताए । उनले स्वदेसमै धेरै सम्भावना रहेको प्रस्ट देखेर आफुलाई पनि उर्जा प्राप्त भएको भन्दै केही नयाँ कामको सुरुवात गर्न लागिपर्ने बताएका छन् ।
गाउँघरमा युवाहरुलाई प्रोत्साहन नै छैन केसी
सहयोगी कृषि फार्मका सञ्चालक शैलेस केसीले गाउँघरमा युवाहरुलाई नयाँ काम गर्न उपयुक्त वातावरण र प्रोत्साहननै नभएको गुनासो गरे । उनले भने “ हामी एक वर्षदेखि यो अभियानमा सकृय छौं , तर कसैको प्रोत्साहन नै छैन” । न त सरकारी निकायको सहयोग नै छ न त प्रोत्साहन । केसीले पटक पटक स्थानीय सरकारको ध्यानाकर्शण गराएपनि आफुहरुलाई कुनै सुझाव तथा सहयोग प्राप्त नभएको गुनासो गरे । उनले नजिकैको वडा कार्यालय मार्फत नगरपालिकालाई पटक पटक सामान्य प्राविधिक सहयोग गरिदिन आग्रह गरेपनि नगरले बेवास्ता गरेको सुनाए । उनले भने आर्थिक सहयोग त हामीले अपेक्षा गर्ने कुरै भएन प्रयाप्त जनशक्ति भएको नगरपालिका प्राविधिक सहयोग गर्न पनि कन्जुस्याँई गरिरहेको छ । केसीले त्यसो भन्दैमा हार खान नहुने भन्दै अधिकांस युवाहरुलाई आफ्नै जन्मभुमीमा सामान्य चुनौती पार गरेरै भएपनि रोजगारको शिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
कृषकको बिमा गर्नै मान्दैनन बिमा कम्पनीहरु
उनिहरुले चितवनस्थित बगैंचा कृषि फार्मबाट प्रति गोटा ६४ हजार तिरेर बाख्रा खरिद गरेका थिए । कर सहितको खरिद बिल बोकेर बाख्राको बिमा गर्न चरिकोट र आसपासमा रहेका थुप्रै बिमा कम्पनीमा पुगेका उनिहरु रित्तो हात फर्किन बाद्य भएको दुखेसो गर्छन् । बिमा कम्पनीले आफहरुको पोलेसीमै त्यो मात्राको मुल्यमा बिमा गर्ने व्यवस्था नरहेको भन्दै फर्काउने गरेको युवाहरुको गुनासो छ । त्यसपछि उनिहरुले मुल्य घटाएरनै बाख्राको बिमा गरेको बताएका छन् । उनिहरुको मात्रै होइन दोलखाका धेरै किसानहरुले अहिले पनि सहज ढंगले कृषि तथा पशुपालन व्यवसायको बिमा गर्न सकेका छैनन् ।
फोटो
दोलखाको उखुबारीमा दुई युवाले सञ्चालन गरेको व्यवसायीक बाख्रा फार्म ।
