Gaurishankar Post
Image default
देश

पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

देशभर १२,३०९ संक्रमित : २,८३४ उपचारपछि निको भए, ९,४४७ उपचाररत, २८ को मृत्यु

पाँच महिनाको अवधिमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । अहिलेसम्म नदेखिएको रसुवामा पनि शनिबार नौजना संक्रमित फेला परेका छन् । देशभर संक्रमितको संख्या १२ हजार तीन सय नौ पुगेको छ भने २८ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाको पहिलो संक्रमण ९ माघमा देखिएको थियो । चीनबाट फर्किएका जनकपुरका युवामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमणबाट सबैभन्दा धेरै प्रदेश २ प्रभावित भएको छ, जहाँ अहिलेसम्म तीन हजार पाँच सय ८१ जना संक्रमित देखिएका छन् ।

उनीहरूमध्ये एक हजार एक सय २३ उपचारपछि घर फर्किएका छन् भने दुई हजार चार सय ५५ जना अहिले पनि अस्पतालमा उपचारत छन् । त्यस्तै, तीनजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रदेश ५ मा तीन हजार चार सय ६५ संक्रमित देखिएका छन् । उनीहरूमध्ये पाँच सय ४३ जना निको भएर घर फर्किएका र दुई हजार नौ सय १३ उपचारमा रहेका छन् । संक्रमणबाट सबैभन्दा धेरै नौजनाको मृत्यु यही प्रदेशमा भएको छ ।

त्यस्तै, सुदूरपश्चिममा देखिएका दुई हजार १२ संक्रमितमध्ये एक हजार नौ सय ३२ जना अहिले पनि उपचारको क्रममा छन् । यो प्रदेशमा संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा एक हजार चार सय ४५ संक्रमित देखिएका छन् । उनीहरूमध्ये नौ सय २२ जनाको उपचार भइरहेको छ भने पाँच सय १९ जना निको भएका छन् । चारजनाको मृत्यु भएको छ ।

त्यस्तै, गण्डकीमा देखिएका आठ सय ६६ संक्रमितमध्ये सात सय ८४ को उपचार भइरहेको छ । ८० जना निको भएर फर्किएका छन् । दुईजनाको मृत्यु भएको छ । प्रदेश १ मा पाँच सय ४९ संक्रमित देखिएका छन् । उनीहरूमध्ये तीन सय ७५ जना निको भएर फर्किएका छन् भने एक सय ७४ जनाको उपचार भइरहेको छ ।

त्यस्तै, बागमती प्रदेशमा संक्रमणबाट पाँचजनाको मृत्यु भएको भएको छ । संक्रमण देखिएका तीन सय ९१ मध्ये एक सय १९ जना निको भएर फर्किएको र दुई सय ६७ को उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित रौतहटमा देखिएका छन् । शनिबारसम्म यहाँ देखिएका एक हजार तीन सय २६ संक्रमितमध्ये तीन सय २५ निको भएर फर्किएका छन् भने एक हजार एक उपचारकै क्रममा छन् । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार र शुक्रबार थप एक–एकजनाको कोरोनाबाट मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आइसियूमा उपचाररत कैलाली गोदावरीका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।

त्यस्तै, शुक्रबार मृत्यु भएकी ३० वर्षीया महिलामा पनि संक्रमण रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । ११ असारमा अचेत अवस्थामा फेला परेकी उनको सनाखत हुन सकेको छैन । 

‘कोरोना जन्तर’ले शरीरका अंगमा हानि पुर्‍याउँछ : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस नसर्ने भन्दै नेकपाका नेताहरूले घाँटीमा ‘भाइरस रिमुभिङ कार्ड’ झुन्ड्याएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बरु, रसायनयुक्त उक्त कार्डले व्यक्तिको मुटु, फोक्सो, कलेजो, मिर्गौलालगायत महत्वपूर्ण अंगमा हानि पुर्‍याउने मन्त्रालयले जनाएको छ । 

‘यस्ता कार्डले भाइरस नलाग्ने पत्ता लागेको भए संसारमा अहिले यति कठिनाइ हुने थिएन । अहिलेसम्म त्यस्तो कार्ड बनेको छैन । त्यसैले यस्ता भ्रामक प्रचारका पछाडि नलाग्न र रिमुभिङ कार्डको प्रयोग नगर्न सबै नागरिकमा आग्रह गर्छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । त्यस्ता कार्डले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेता नीलो डोरीसहितको ‘भाइरस रिमुभिङ कार्ड’ लगाएर स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले कार्ड भिरेका थिए । यसबाट आमजनतामा भ्रम सिर्जना भएको पनि प्रवक्ता गौतमले बताए ।

source – Nayapatrika Dilly

याे पनि हेर्नुहोस

गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगियो एक साताबाट निर्माण सुरु हुने

shyam khatiwada

उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यमा उम्मेद्धारी दिदै व्यवसायी रिमाल

shyam khatiwada

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन

shyam khatiwada
गाैरीशंकर पाेष्ट
Online News Portal