Gaurishankar Post
समाचार

पाँच विद्यालयका ५ सय ९९ विद्यार्थीलाई झोला वितरण


श्याम खतिवडा
दोलखा १६ फागुन
,,,
दोलखाका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एस एस फाउण्डेशनले विद्यालय झोला वितरण गरेको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा सहयोग पुगोस भन्दै फाउण्डेशनले जिल्लाका पाँच विद्यालयका ५ सय ९९ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । विद्यार्थीसँग मित्रता कार्यक्रम आयोजना गरी फाउण्डेशनले पाँच वटै विद्यालयमा पुगेर शैक्षिक सामाग्रीका रुपमा झोला वितरण गरेको फाउण्डेशनका सदस्य नवराज खड्काले बताए । विद्यार्थीको शैक्षिक गुणस्तरको लागि फाउण्डेशनले बिभिन्न शैक्षिक सामग्री वितरण गर्दै आएको र सोही क्रममा दोलखाको पाँच वटा विद्यालयका पाँच सय ९९ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको फाउण्डेशनका संस्थापक शोभित उप्रेतीले जानकारी दिए ।
फाउण्डेशनले दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीमा रहेको वीरेन्द्र माविमा तीन सय एक, वडा नम्बर ८ शैलुङमा रहेको चण्डिका आधारभूत विद्यालयमा एक सय आठ, दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर ६ च्यामामा रहेको जनज्योती आधारभूत विद्यालयमा एक सय सात, वडा नम्बर ६ च्यामाकै सुर्योदय प्राविमा ४५ र दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ को भिमेश्वर बहिरा प्राविमा ३८ गरी पाँच सय ९९ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको फाउण्डेशनका सदस्य नवराज खड्काले बताएका छन् ।
शैक्षिक गुणस्तरको लागि उचित शिक्षा सहित आवश्यक शैक्षिक सामग्री समेत आवश्यक हुने भएकोले फाउण्डेशनले दोलाखाका बिभिन्न बिद्यालयमा झोला लगायतका सामग्री वितरण गर्दै आएको फाउण्डेशनका अध्यक्ष समेत रहेका बरिष्ठ कलाकार मदनदास श्रेष्ठको भनाई छ ।
एसएस फाउण्डेशनले कोरोना कहरको बेला समेत दोलखा लगायतका जिल्लाहरुमा तत्कालिन समयको आवश्यकता अनुसार अक्सिजन कन्सन्टेटर, माक्स लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरेको फाउण्डेशनका संस्थापक उप्रेतीले जानकारी दिए । उनका अनुसार फाउण्डेशनले आर्थिक अभाबका कारण जटिल रोग लागेका बिरामीको केही उपचार खर्च देखि प्राकृतिक प्रकोपमा परेका हरुलाई आबश्यक सहयोग गर्दै आइरहेको छ । फाउण्डेशनले झण्डै एक महिना अघि आगलागीमा परेका कालिञ्चोक ९ सुन्द्रावतीका पिडितहरुलाई समेत आबश्यक सहयोग गरेको थियो ।
फोटो
झोला वितरणपछि सामुहिक तस्बिर खिचाउँदै शैलुङ गाउँपालिकास्थित बिरेन्द्र माविका विद्यार्थीहरु । तस्बिर सौजन्य – एस एस फाउण्डेशन ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

मुलुकमा प्रजातन्त्र कायम राख्न राप्रपाको नेतृत्व अपरिहार्य राणा

shyam khatiwada

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु

shyam khatiwada
Gaurishankar Post