Gaurishankar Post
राजनीति स्थानीय समाचार

बाँकी काम पुरा गर्न मेरो उम्मेद्वारी हो , वैतेश्वरमा कांग्रेससँग कसैको प्रतिष्पर्धानै छैन- लामा

दोलखाको बैतेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष छवि लामाले आफूले थालेका अपूरा काम पूरा गर्नका लागि फेरि पनि अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
आफूले थालेका काम ७० प्रतिशत सकिएको दाबी गर्दै उनले बाँकी रहेको ३० प्रतिशत आगामी पाँच वर्षभित्र सम्पन्न गरी थप योजना ल्याएर बैतेश्वरलाई जिल्लाकै नमूना गाउँ बनाउने दाबीसहित पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेपाली कांग्रेसका तर्फबाट फेरि पनि अध्यक्षमा जित्ने दाबीसहित उनले आफू काम गर्ने मान्छे भएकाले मतदाताको विश्वासमा पुनः उम्मेदवारी दिएको बताए । उनी भन्छन्, ‘पाँच वर्षमा विकास गरेको थिएँ । त्यही भएर उठेको हुँ । मैले जित्छु भन्ने विश्वास छ ।’ उनले आफू र उपाध्यक्षले मात्र हैन आठ वटामध्ये सात वटा वडाध्यक्ष पनि कांग्रेसले जित्ने दाबी गरेका छन् ।

बैतेश्वरमा सत्ताधारीहरुको गठबन्धन बन्न नसकेपछि सबै छुट्टाछुट्टै चुनावी मैदानमा रहेका छन् । कांग्रेस र एमाले छुट्टाछुट्टै भए पनि सत्ता सहयात्री दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।
गठबन्धन बन्न नसकेकोबारे लामा भन्छन्, ‘गठबन्धन गरौं भनेर प्रस्ताव गरिएको हो । तर उहाँहरु अध्यक्ष नै चाहिने भनेर अड्डी कस्न थालेपछि कांग्रेसले जितेको ठाउँमा उपाध्यक्ष दिने भन्दा मान्नु भएन । त्यसो भए मित्रवत् प्रतिस्पर्धा गरौं भन्ने भयो र छुट्टाछुट्टै लडेका छौं ।’

उनले पाँच वर्षको अवधिमा धेरै काम गरेको भन्दै सबैभन्दा महत्वपूर्ण र चाहिने काम शिक्षा र स्वास्थ्यमा सुधार गरेको बताए । उनले भने, ‘मैले घोषणा गरेमध्ये ७० प्रतिशत काम गाउँस्तरमा गरियो । बाँकी रहेको काम आगामी कार्यकालमा सक्छु भनेर लागेको छु ।’

बाँकी रहेका काम सक्नेबारे योजनाबारे उनले भने, ‘पर्यटक भित्र्याउने भनेर पर्यटनको काम शुरुआत गरिएको छ । त्यसलाई पूरा गर्नुछ । देउराली, भन्भन्ते, गढिडाँडा लगायतमा सबै मठमन्दिर जिर्णोद्धार गरेर पर्यटकलाई आकर्षण गर्नुपर्नेछ । खानेपानीका लागि एक घर एक धारा घोषणा गरेको छ । शुरुआत गरिएको छ त्यसलाई पूरा गर्नुछ । गोरेटो बाटो पिच गर्ने काम गर्नुछ । ९–१० किलोमिटर पिच भइसकेको छ ।’

उनले गाउँपालिका भवन तयार भइसकेको बताए । त्यस्तै वडा कार्यालयहरु पनि तयार गरिसकेको बताए । गाउँले दान दिएकोसमेत उनले बताए । गाउँपालिकालाई ४७ रोपनी जग्गासमेत दानमा आएको लामाले बताए । सो जग्गामा मठमन्दिर, मिटिङ हल, कार्यालय, क्वार्टर, कृषि भवन, किसान केन्द्र बनाइएकोसमेत लामाले जानकारी दिए ।

शिक्षा र स्वास्थ्यबारे उनी भन्छन्, ‘शिक्षा र स्वास्थ्य महत्वपूर्ण हो । स्वास्थ्यको भवन बनिसकेको छ । १५ शैथ्याको अस्पताल संचालनमा ल्याएका छौं । डाक्टर राखिसकेका छौं । १८ करोडको लागतमा भवन बनाउँदैछौं । गुणस्तरीय शिक्षाका लागि अंग्रेजी मिडियमबाट पढाइ शुरु गरेको तीन वर्ष भयो । आठ वटा वडामा सबैमा मावि, उच्च मावि छ । शिक्षामा हामी जिल्लाभरमै पहिलोमा पर्छौं ।
लामाले यो निर्वाचनमा वैतेश्वरमा कांग्रेससँग कुनै पनि दलको प्रतिस्पर्धानै नभएको बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

जिरीको कार्यक्रम सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी गृह जिल्ला दोलखामा

shyam khatiwada

आगलागी पिडित अधिकारी परिवारलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग

shyam khatiwada

जिसस खारेज गर्न सांसदहरुको माग

sanjeet
Gaurishankar Post