दोलखा ९ मंसिर
दोलखाको प्रशिद्ध धार्मीक स्थल भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै २ पटक पसिना आएको छ ।
भीमेश्वरको शिलामा यस अघि गत वर्षको फागुन ८ गते आएको पसिना एक वर्ष पुरा नहुदै मंगलबार पुन लामो समयसम्म पसिना आएको हो । गतबर्ष पनि घण्टौंसम्म आएको पसिनाले देशमा कोरोना भाइरस भित्रीएको भीमेश्वर क्षेत्रका जेष्ठजनहरुले बताउदै आएका छन् । मंगलबार दिउँसो १ बजेर ४३ मिनेटदेखि भीमेश्वरको शिलामा निरन्तर आएको पसिना ३ बजेर ५४ मिनेट जाँदा रोकिएको मन्दिर क्षेत्रका स्थानीय समेत रहेका भीमेश्वर २ का वडाअध्यक्ष बिराजमान श्रेष्ठले जानकारी दिए । लगातार पसिना आएपछि मन्दिर व्यवस्थापन पक्ष र स्थानीयले विविध पुआ आजा सँगै आरधना गरेका थिए ।
मन्दिरको मुर्तीमा पसिना आएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी सहितको सरकारी टोली मन्दिर परिसर दोलखा बजार पुगेको थियो । शिलामा आएको पसिनाका बारेमा सरकारी टोलीले राष्टपति कार्यालयलाई जानकारी गराएको र प्राप्त निर्देशनका आधारमा क्षमा पुजा गरिने एक अधिकारीले बताएका छन् । कोभीडका कारण लामोसमयदेखि भीमेश्वर मन्दिर बन्द गरिएको भएपनि केहीसमय अघिदेखि नियमित पुजाआजा हुदैं आएको थियो । तर सर्वसाधरणलाई भने खुल्ला नगरिएको स्थानीय भरत नारायण प्रधानले बताए । उनका अनुसार मंगलबार दिउसो सुरुमा शिलाको देब्रे भागबाट आएको पसिना केहीबेरमा रोकिएको र त्यसपछि दुबै तिरबाट लगातार पसिना आएको थियो । भीमेश्वरको पसिनालाई विगतमा राजपरिवार तथा सरकार सँग जोडेर अनिष्टको संकेत या कुनै ऐतिहाँसीक तथा युगान्तकारी परिवर्तन हुने जनविस्वास रहँदै आएको छ । तर यो पटकको पसिना दुबै भागबाट आएकाले संकेत शुभ या अशुभ भनेर छुट्टयाउन सक्ने अवस्था नरहेको मन्दिरका पुजारीहरुको तर्क छ ।