४ युनिटको आम्दानी दैनिक २ करोड ६१ लाख ,२ युनिटको विद्युत परिक्षणमा ।
श्याम खतिवडा
दोलखा २ भदौ
स्वदेसी लगानीमा निर्माण सम्पन्न भएको दोलखाको लामाबगरस्थित बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका ६ वटै युनिटका सबै टर्वाइन सञ्चालनमा आएसँगै पुर्ण क्षेमतामा विद्युत उत्पादन सुरु भएको छ ।
असार २१ गतेबाट पहिलो युनिटको ७६ मेगावार्ट विद्युत उत्पादन सुरु गरेको आयोजनाले क्रमश ६ वटै युनिट चार्ज गरि पुर्ण क्षेमता अर्थात ४५६ मेगावार्ट विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाका उपप्रबन्धक इन्जिनियर बिमल गुरुङका अनुसार मंगलबारदेखि ६ वटै युनिटबाट पुर्ण क्षेमतामा विद्युत उत्पादन सुरु भएको छ । उत्पादित सबै विद्युत गोंगर खिम्ती ढल्केबर प्रसारणलाइनमार्फत नेशनल ग्रिडमा जोडिएको छ । आयोजना उद्ध्घाटन भएको १ महिना १० दिनभित्रै सबै युनिटबाट विद्युत उत्पादन गर्न सफल भएको उपप्रबन्धक गुरुङले बताएका छन् । नयाँ पत्रिका सँग कुरा गर्दै गुरुङले भने “तोकिएको समयमा सबै युनिटबाट विद्युत उत्पादन गर्न थुप्रै चुनौतिहरु थिए , तैपनि सबै चुनौतिलाई सामना गर्दै विद्युत उत्पादन गर्न सफल भयौं” । गुरुङले हाल खिम्तीदेखि ढल्केबरसम्मको प्रसारणलाइनमा सामान्य कामहरु बाँकी रहेपनि उत्पादित विद्युत भने नियमित प्रवाहा भैरहेको जनाएका छन् । उनका अनुसार ति क्षेत्रमा ट्रान्सफर्मर अपग्रेड गर्ने जस्ता सामान्य कामहरु भैरहेको बताएका छन् ।
४ युनिटबाट दैनिक २ करोड ६१ लाख आम्दानी
आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावार्ट विद्युतमध्ये ४ युनिटको ३ सय ४ मेगावार्ट विद्युतबाट आयोजनाले बुधबारदेखि प्रतियुनिट ३ रुपैंया ६३ पैसाका दरले दैनिक २ करोड ६१ लाख रुपैंया आम्दानी गर्न थालेको छ । उपप्रबन्धक गुरुङका अनुसार ४ वटै युनिटबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले फरक फरक समयमा १५ दिन परिक्षण गरिसकेको र चौथो युनिटको पनि परिक्षण सम्पन्न भएपछि बुधबार देखि उल्लेखित आम्दानी सुरु भएको बताएका छन् । उनका अनुसार उत्पादीत विद्युत बापतको आम्दानी हरेक वर्ष ३ प्रतिशतका दरले वृद्धि हुदै जाने सम्झौता छ । अगामी आर्थिक वर्ष वर्षा याममा सम्झौता अनुसारको मुल्य वृद्धि हुँदा आयोजनाको आम्दानी प्रतियुनिट ३ रुपैंया ७४ पैसा हुने आयोजनाका अधिकारीहरुले जनाएका छन् ।
दुई युनिट परिक्षणमा, भदौ तेस्र्रो साताबाट दैनिक ३ करोड ९७ लाख आम्दानी
आयोजनाका २ वटा युनिटबाट उत्पादित १ सय ५२ मेगावार्ट विद्युत अहिले परिक्षणमा रहेको छ । उपप्रबन्धक गुरुङका अनुसार भदौ तेस्र्रो साताबाट सबै युनिटको उत्पादित विद्युत बापतको आम्दानी प्रतिदिन ३ करोड ९७ लाख २६ हजार ७ सय बिस रुपैंया हुने छ । गुरुङले यो आम्दानी बर्षातको मौसम अर्थात बैशाख देखि मंसिरसम्म लागु हुने र सुख्खा मौसममा भने दैनिक ५ देखि ६ घण्टामात्र विद्युत उत्पादन गरिने भएकाले आम्दानी पनि घट्न सक्ने बताएका छन् । उनका अनुसार सुख्खा याममा प्रतियुनिट ६ रुपैंया ९६ पैसाका दरले आम्दानी हुनेछ । उक्त मुल्य अर्को वर्ष ३ प्रतिशतले वृद्धि हुँदा ७ रुपैंया १७ पैसा पुग्ने छ ।
११ वर्षपछि उत्पादन
आयोजनाले उत्पादन गरेको विद्युत गोंगरस्थित विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरको सबस्टेसनमा जोडिएको छ । २०६७ भदौ १७ गतेबाट मुख्य सिविल संरचनाको निर्माण सुरु गरिएको आयोजनामा ११ वर्षपछि विद्युत उत्पादन भएको हो ।
स्वदेसी लगानीमा निर्माण सुरु भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुवाती लागत ३५ अर्ब २९ करोड प्रक्षेपण गर्दै निर्माण सुरु भएको थियो । २०६७ मा ३५ अर्ब २९ करोडको आयोजना २०७५ मा पुग्दा ब्याज सहित ४९ अर्ब २९ करोड पुगेको प्रवक्ता न्यौपाने बताउछन् । त्यसपछि ५२ अर्ब प्रक्षेपण गरिएको आयोजनामा ३२ अर्ब ब्याज जोडिदा अहिले माथिल्लो तामाकोसीको कुल लागत ८४ अर्ब पुगेको जनाइएको छ । उपप्रबन्धक गुरुङले ठेकेदार कम्पनीले समयमा काम नगर्नु , भुकम्प नाकाबन्दी र विगत वर्ष देखि सुरु भएको कोभिड महामारीका कारण पनि केही लागत वृद्धि भएको बताएका छन् ।