शनिबार थपिएका १० सहित दोलखामा ७१ पुगे सकृय संक्रमित
दोलखा १५ कार्तिक
स्वदेसी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ९ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।
दसैं मनाएर आयोजना निर्माण स्थल लामाबगर जान लागेका २६ जना कर्मचारीहरुको स्वाब परिक्षण गरिएकोमा ९ जनालाई संक्रमण पुष्टी भएको हो । आयोजनाले दसंै मनाउन घर गएका कर्मचारीहरुलाई पिसिआर रिपोर्ट अनिवार्य गरेसँगै उनिहरुले दोलखा बजार स्थित धुलिखेल अस्पतालमा शुल्क तिरेर पिसिआर गरेका थिए । धुलिखेल अस्पताल दोलखाका प्रमुख डाक्टर रोषन महतोका अनुसार कार्तिक १३ गते तामाकोसी आयोजनाका २६ कर्मचारी र १ जना स्थानीय महिला गरि २७ जनाको स्वाब पठाइएकोमा आयोजनाका ९ जना र अर्की एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । धुलिखेल अस्पतालले आफ्नै ल्याबमा परिक्षण गर्ने भएकाले परिक्षणको नतिजा छोटो समयमा आएको डाक्टर महतोले जानकारी दिएका छन् ।
संक्रमित सबै होम आइसुलेसनमा
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले संक्रमित सबै होम आइसुलेनमा राखिएको जानकारी दिए । उनका अनुसार आयोजनामा बिदा बसेका या अन्य कुनै कामले आयोजनाबाट बाहिरिएका कर्मचारीहरु पुन आयोजना प्रवेश गर्दा पिसिआर अनिवार्य गरिएको छ । संक्रमित कर्मचारीहरु प्राविधक हरु रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । शनिबार थपिएका दस जना सहित दोलखामा सकृय संक्रमितहरुको संख्या ७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी बासुदेब अधिकारीका अनुसार हालसम्म १ सय ३१ जना पोजेटिभ संक्रमितहरुमध्ये ५९ जना निको भएर घर फर्किसकेका र ७१ जना सकृय संक्रमितमध्ये लक्षण देखिएका केही अस्पतालमा र बाँकी होम आइसुलेसनमा रहेका छन् ।