Gaurishankar Post
समाचार

मेलुङ गाउँपालिकाको करिडोर सडक , ७ किलोमिटर ट्रयाग खन्न १ करोड


श्याम खतिवडा
दोलखा ६ भदौ

दोलखाको मेलुङ गाउँपालिकाले २०७४ बाट निर्माण सुरु गरेको करिडोर सडकमा ७ किलोमिटर ट्रयाग खन्न १ करोड बजेट खर्चिएको तथ्य सार्वजनिक भएको छ ।
गाउँपालिकाको रणनितिक महत्वको सडक भन्दै वर्षेनि बजेट विनियोजन गरी ७ किमी सडकको ट्रयाग खुलाउन एक करोड बजेट खर्च गरेको हो । स्थानीय तहको निर्बाचन पछि जनप्रतिनिधिको महत्वकांक्षी आयोजना भन्दै वर्षेनी करोडौं बजेट विनियोजन गरि काम अघि बढाउदा पनि ७ किलोमिटर सडकको ट्रयाग खुलाउनमात्रै ४ वर्ष समय लागेको स्थानीयहरुले बताएका छन् । मालुखोलादेखि चरंगेसम्मको १३ किलोमिटर सडक मध्ये यसअघिनै डिभिजन सडक कार्यालयले ६ किलोमिटरमा ट्रयाग खुलाइसकेको थियो । मालुखोलाबाट घ्याङसुकाठोकरको कल्लेरीसम्म तयार भैसकेको सडकबाट कल्लेरी देखि चरंगे सम्म ७ किलोमिटर ट्रयाग खुलाउदा पटक पटक गरि एक करोड बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।
खनिएको सडकको ट्रयाग हेर्ने हो भने सवारी साधन त के जनावर पनि सहज ढंगले हिड्न नसक्ने स्थानीय बासिन्दाको गुनासो छ । मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ३० लाख , ०७५/०७६ मा ८० लाख र ०७६/७७ मा प्रदेश सरकारले ७० लाख गरि उक्त सडकमा हालसम्म १ करोड ८० लाख बजेट विनियोजन भएको देखिन्छ । गाउँपालिकाका इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार आ.व. ०७५/०७६ मा विनियोजित ८० लाख बजेट भने काम गर्न नसकेर फ्रिज भएको थियो । बाँकी २ आर्थिक वर्षको गरि १ करोड बजेट उक्त सडकको ट्रयाग खुलाउन मात्रै खर्च भएको मेलुङ गाउँपालिकाले जनाएको छ । अहिले उक्त सडकको अवस्था हेर्दा दयनिय मात्रै होइन सरकारी बजेटको कसरी दुरुपयोग हुन्छ भन्ने नमुनाका रुपमा उक्त सडकलाई हेर्नुपर्ने मेलुङका स्थानीय युवा सुकदेब भण्डारी बताउछन् । उनका अनुसार दुर्गामी लक्ष्यबिना अध्ययनै नगरि उक्त सडकमा गरिएको लगानीले मेलुङबासीलाई कुनैपनि लाभ हुने छैन । गाउँपालिकाका ३ वटा वडाहरु भेड्पु ,घ्याङसुकाठोकर र पवटीको तल्लो भाग जो अत्यन्तै उर्बर र खेतियोग्य जमिन रहेको क्षेत्र भएपनि किसानलाई कुनै किसिमको क्षेतिपुर्ती समेत उपलब्ध नगराई मनलागी सडक खनिनुले कृषकको भावनामा समेत चोटपुगेको स्थानीय रामकुमार कार्कीले बताए । उक्त सडक निर्माण गर्दा भेडपुको बगुवा बेसी , घ्याङको ठुलीबेसी र पवटीको खेतियोग्य जमिन प्रयोग गरिएको छ । जसका कारण वषर््ेानी झर्ने पहिरोले क्षेती गराएको र किसान चिन्तीत हुने गरेको पिडितहरुले जनाएका छन् ।
मालुखोला गोलेगाउँ धनुके सडक समेत अस्तब्यस्त
मालुखोला बजारबाट गोलेगाउँ हुदै गाउँपालिका केन्द्र जोडिने मालुखोला गोलेगाउँ धनुके सडक समेत अस्तब्यस्त छ । लामो समयदेखि सन्चालनमा आएको उक्त सडकमा जनप्रतिनिधि आएदेखि बर्षेनि बजेट विनियोजन हुन्छ तर प्रभाबकारी काम नहुँदा सो सडकमा २ वर्षदेखि सवारी साधन समेत चल्न छोडेको भेड्पुका मोहन विक्रम कार्कीले जानकारी दिए । उनका अनुसार सुरु सुरुमा रोल्वालिङ यातायातले २ वर्ष अघिसम्म नियमित सेवा दिइरहेपनि बाटोकै खराबीका कारण २ वर्षदेखि उक्त सडकमा सार्वजनिक सवारी साधनहरु चल्न सकेका छैनन् । हिउँदको समयमा दुखले बोलेरो जिपहरु चलेपनि अरुबेला भने केही साधन पनि चल्ने अवस्था छैन । तर सोही सडक स्तरोन्नती तथा निर्माणका लागि भन्दै मेलुङ गाउँपालिकाले वर्षेनी लाखौं बजेट विनियोजन गरि काम गरिरहेको छ । सुचना अधिकारी पौडेलका अनुसार उक्त सडकमा हालसम्म १ करोड ५३ लाख रुपैंया बजेट खर्च भैसकेको छ । स्थानीयहरुले कामको प्रगति सुन्य तर करोडौं बजेट सकिएको भन्दै छानविनका संवैधानीक निकायको ध्यानाकर्षण गराइदिन सञ्चारकर्मीहरुसँग अनुरोध समेत गरेका छन् ।
नदिजन्य सामाग्री उत्खननका लागि खनिएको हो गाउँपालिका
मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले पालिकाको आन्तरिक आम्दानी कमजोर रहेको र नदिजन्य सामाग्री उत्खनन गर्दा राजश्व संकलन हुने भएकाले उक्त सडकलाई प्राथमिकताका आधारमा निर्माण गरिएको बताए । उनले आन्तरिक समस्या लगाएत केही प्राविधिक कारणले सडक निर्माणमा ढिलाई भएको स्विकार्दै छिटै निर्माण सम्पन्न हुने गरि गाउँपालिका अघि बढिरहेको जनाएका छन् । वडाअध्यक्ष समेत रहेका प्रवक्ता थोकरले चालु आर्थिक वर्षका लागि पनि सो सडकका लागि १ करोड बजेट विनियोजन भएकाले प्रभाबकारी काम हुने जनाएका छन् । प्रवक्ता थोकरले करिडोर सडक उत्तर दक्षिण लोकमार्गलाई समेत लक्षित गरि निर्माण गरिएको जनाएका छन् । उनले मालुखोला गोलेगाउँ सडकपनि सुरुमा बिना अध्ययन निर्माण गरिएको र वर्षेनी मर्मत गर्दा खर्च धेरै हुने गरेको बताउदै चालु आर्थिक वर्षबाट उक्त सडकलाई व्यवस्थीत बनाउनेमा गाउापालिका कृयाशिल रहेको जानकारी दिएका छन् ।
फोटो
दोलखाको जफेबाट देखिने मेलुङ गाउँपालिकाको तामाकोसी करिडोर सडकको ट्रयाग । तस्बिर गौरीशंकरपोष्ट।

याे पढ्न छुटाउनु भयाे की ?

लोकतान्त्रिक बाम गठबन्धन दोलखाको अपिल

sanjeet

राप्रपा दोलखाको पत्रकार सम्मेलन मेलुङ् गाउँपालिका भ्रस्टाचारले ग्रस्त भएको आरोप

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada
Gaurishankar Post