नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै सङ्घीय सांसद समेत रहेका नेता जिपछिरिङ लामाले आफ्नो प्रचार प्रसारलाई तीव्र पारेका छन् । व्यवसायबाट नेपाली राजनीतिमा उदाएका लामा नेपाली काँग्रेसको दुई पटक केन्द्रीय सदस्य र सांसद भइसकेका छन् ।
महाराजगन्जमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेर मधेसका नेता कार्यकर्ता भेटघाट गरी उनी राजधानी फर्किसकेका छन् । सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने लामाले प्रदेश महाधिवेशनपछि आफ्नो प्रचारलाई तीव्र बनाएका हुन् ।पार्टी राजनीतिमा लामा मनविर नेताको छवि बनाएर स्थापित नेता हुन् । पार्टीलाई समस्या परेको बेला जुनसुकै परिस्थितिमा राजनीति र आर्थिक रूपमा लामाले महत्त्वपूर्ण योगदान गर्दै आएका छन् ।
को हुन् लामा
दोलखाको साविक स्यामा गाविस अर्थात् हाल जिरी नगरपालिका १ का स्थायी बासिन्दा हुन् लामा । सामान्य परिवारमा आमा दाडोमा शेर्पा र बुबा तेङिमा शेर्पाको काइँला छोरा लामाको राजनीतिक जीवन त्यति सहज भने छैन ।
बहुदल र निर्दलबिचको जनमत सङ्ग्रह पूर्वदेखि नै लामा राजनीतिमा सक्रिय देखिन्छन् । २०३६÷३७ सालमा बहुदल र निर्दलको पक्षमा जनमत सङ्ग्रह भइरहेका बेला लामा बहुदलको पक्षमा चट्टान बनेर उभिएका थिए ।
‘मैले त्यतिखेर बहुदल नै रोजेँ । त्यसपछि म, भीमबहादुर तामाङ दाइ, आङछिरिङ, आङदोर्जे शेर्पा हामी एकठाँउमा उभिएर काम गर्ने अवसर समेत मिल्यो ।’ उनले भने, ‘हामी सबै निकट भएर गृह–जिल्ला दोलखा र काठमाडौँमा सम्पर्क समिति समेत गठन गरेर सङ्गठन बनाउन तर्फ सक्रिय रहे ।’
काँग्रेस भएबापत बापत लामाले कयौँ पटक प्रहरीबाट धरपकड व्यहोरेका छन् । माओवादीको १० वर्षे जनयुद्धको समयमा समेत स्व। नेता भीमबहादुर तामाङसँग मिलेर सङ्गठनलाई मजबुत बनाउन निरन्तर लागि परेका नेता हुन् ।
उनी पार्टीको १० औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । त्यससँगै ११ औँ मा भने केन्द्रीय सदस्यमा विजयी भएका थिए । १२ औँ र १३ औंमा झिनो मतान्तरले पराजित भएका उनी अहिले बहालवाला सङ्घीय सांसद हुन् ।
समाजसेवा यात्रा
‘सेवा नै धर्म’ हो भन्ने अभिप्रायका साथ राजनीतिमा अगाडि बढेका लामालाई दिन दुःखीले भगवानको रूपमा चिन्छन् । जुनसुकै दिन दुःखी र पार्टी कार्यकर्तालाई समस्या पर्ने बेला भौतिक उपस्थितिमा नै उनले आर्थिक सहयोग गर्ने गरेका छन् । जिल्लाबासीले लामालाई भीमबहादुर तामाङको मृत्यु पश्चात् अभिभावकको रूपमा लिने गर्दछन् ।
मुलुकका थुप्रै ठुलाठुला योजनाहरू लामाकै नेतृत्वमा निर्माण भएका छन् । यद्यपि त्यसको अलवा गुम्बा, मठमन्दिर, स्कुल, क्याम्पस, स्वास्थ्य चौकी बाटोघाटो र खानेपानी निर्माणमा उनले व्यक्तिगत सहयोग नै गर्दै आइरहेका छन् ।
पछिल्लो समय माता पिताको नाममा स्थापना गरिएको ‘तेङिमा–दाडोमा’ लामा स्मृति प्रतिष्ठानबाट लामाले आफ्नो समाजसेवाको प्रादुर्भाव झन् फराकिलो बनाउँदै लगेका छन् ।
२०७२ को भूकम्पमा परि घाइते भएका हजारौँलाई व्यक्तिगत आर्थिक सहयोगमा उनले हेलिकोप्टर तैनाथ गरी उद्धार गरेका थिए । विपत्तिको बेला उनको महत्त्वपूर्ण उपस्थिति र सहयोग त्यतिखेर जनमानसमा ओखती बन्यो नै ।
त्यसको अलवा लामाले हजारौँ त्रिपाल, स्वास्थ्य सामग्री र खाद्यान्न पनि सहयोग गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा असाधारण सहयोग
गृह–जिल्ला दोलखाको स्वास्थ्य क्षेत्रमा उनले असाधारण सहयोग गरेका छन् । निजी खर्चमा माता पिताको नाममा नौं वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकालाई गरी दुई शवबाहन दान गरेका छन् ।
ती एम्बुलेन्स र शवबाहन अहिले पनि सेतो नम्वर पेलेटमा जिल्लामा आवश्यकता अनुसार सञ्चालन भइरहेको छ । कोरोना महामारीमा अक्सिजन स्वास्थ्य सामाग्री अभावमा जनता रहेका बेला उनले निजी सहयोगमा थुप्रै स्वास्थ्य सामाग्रीहरू जिल्लाका अस्पतालहरूलाई निःशुल्क उपलब्ध गराएका थिए ।
भूकम्पमा परी घाइतेहरूको स्वास्थ्य उपचार देखि लिएर उनले परिवारको सदस्य गुमाएका गृह जिल्लाको एक सय ७४ परिवारलाई १५ हजारका दरले नगद सहयोग गरेका थिए । तीनै लामाले काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेसँगै काँग्रेस वृतमा लामाको चर्चा छ ।