एमबी खड्का
लासहरुको मौन जुलुसमा
सुटुक्क छिरेर साँझ पख
तिम्रो घर देखि मेरो घाट सम्म
तिम्रो आँगन देखि मेरो चिहान सम्म
यात्रा गरिरहेछु
जडौरिमै काटेको हो जुनि
गरिबिमै त फाटेको हो मन
मरे पछि त कमसेकम
एकसरो नयाँ कात्रो फेर्ने
रहर हुंदो रहेछ साथी !
दौंतरी मलामिहरुको काँधमा चढेर
गएं है ? भन्दै गाउँ तीर
घाट सम्न पुग्ने रहर हुंदो रहेछ
आरामले पल्टिएर चित्तामा
खरानी भएर अलिअलि
धुंवा भएर अलि अलि
माथी धेरै माथी आकासमा
निस्फिक्री भएर उड्ने
रहर हुंदो रहेछ
हेरून न ती दौंतरी मलामिहरु
अनि हेरुन न त
ती नवजात टुहुराहरु
हात हल्लाएर बिदा गरून भन्ने
रहर हुंदो रहेछ
यात्रा गरिरहेछु
लासहरुको मौन जुलुसमा
सुटुक्क छिरेर साँझ पख
तिम्रो आँगन देखि मेरो चिहान सम्म
यात्रा गरिरहेछु ।