कसैले भनेका छन् जिन्दगीबाट भाग्न यात्रा गर्ने होइन, नभाग्न यात्रा गर्ने हो।
” विद्यार्थी प्रतिमा श्रेष्ठ जस्तै धेरैले सोचेका छन् कि कस्तो यात्रा गर्दा जीवनको वास्तविक उद्देश्य पत्ता लाग्छ। यो प्रश्नले सबैको मनमा उत्सुकता र जिज्ञासा ल्याउँछ। यस्ता प्रतिक्रियाहरू न केवल विद्यार्थीहरूले, प्रत्येक ती व्यक्तिहरूले सोध्छन् जो जीवनमा थप प्रेरणा र उद्देश्य खोजिरहेका छन्। नवराज भट्टराई (कोहम) यस यात्रामा अग्रसर रहेका व्यक्ति हुन् जसले यात्रा नै जीवन हो भन्ने मान्यतालाई आफ्ना यात्रामा समेटेका छन्। २०६५ साल कार्तिक २ गतेको समयदेखि ७३० दिनको नेपाल भ्रमण गर्ने नवराज भट्टराईले भारत, भुटान र म्यानमारको भ्रमण पनि गरे। तिनै अनुभव उनले अहिले सहभागीहरूका बीच साझा गर्दै आएका छन्।
साथी नारायणप्रसाद भट्टराई (सोहम)सँग यात्रा गर्दै उनले त्यहाँका धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय स्थलका अनुभव र तस्बिरहरू समेटेर पुस्तक र वृत्तचित्र निर्माण गरेका छन्। त्यसपछि, नवराजको यात्रा धेरै हदसम्म औपचारिक तथा अनौपचारिक कक्षामा परिणत भएको छ, जहाँ उनी शैक्षिक रुपान्तरणका निम्ति विद्यार्थीहरूलाई सकारात्मक सोच, स्मरण शक्ति वृद्धि, र जीवनका संघर्षहरू बारेमा मार्गदर्शन दिँदै आएका छन्। कोशी प्रदेशको १४ वटै जिल्लाका ५०० बढी प्रेरणादायी कक्षाहरू र सन्देश फैलाउने अभियान पूरा गरिसकेपछि अहिले उनी बागमती प्रदेशको दोलखा जिल्लामा पुगेर विद्यार्थीहरूलाई प्रेरणा दिन व्यस्त छन्। नेपाल भ्रमणको दोस्रो चरणमा दोलखा १७ औं जिल्ला हो। हालसम्म उनले जिरी मावि, हनुमन्तेश्वर मावि,कालिन्चोक मावि,अल्पाइन बोर्डिङ गौरीशंकर बोर्डिङ लगायतमा प्रशिक्षण दिइसकेका छन् भने यही आइतबार गौरीशंकर क्याम्पसमा प्रशिक्षणको कार्यक्रम रहेको छ। नवराज भट्टराईका कक्षा सन्देशले केवल शैक्षिक सुधारका विषय मात्र नभई जीवनका महत्वपूर्ण पक्षहरूको व्याख्या पनि गर्छ। उनी जीवनमा अधि बढ्न नोट होइन अठोट, गाँठ होइन आँट, प्राण होइन प्रेरणा,बहाना होइन चाहना चाहिन्छ भन्ने दृढ मान्यतामा विश्वास गर्छन्।
नेपाल सरकारको सहयोग नभए पनि उनलाई विभिन्न विद्यालय,क्याम्पस तथा सर्वसाधारणबाट यथासक्य सहायता र समर्थन प्राप्त हुँदै आएको छ। यस अभियानका दौरान भेटिएका नयाँ स्थानहरू र नयाँ अनुभवहरूले उनलाई अझ बढी प्रोत्साहन र उर्जा प्रदान गरेको छ। उनले भनेका छन्, “प्रेरणा केवल शब्दमा सीमित हुँदैन, यात्रा नै जीवनको उद्देश्य बुझ्नका लागि महत्वपूर्ण हो।” आजको युगमा विज्ञान र प्रविधिको चक्रसँगै नकारात्मकता हाम्रो जीवनमा पसेको छ। यसबाट बाहिर निस्कने उपायहरू र समयको सदुपयोग सम्बन्धी विचार प्रकट गर्दै नवराज भट्टराई यस प्रकारको सन्देश पुर्याउँदै छन्। २ लाख विद्यार्थीलाई प्रेरणा दिने लक्ष्य र देशभरका ७७ जिल्लामा प्रशिक्षण दिने अभियानले उनलाई जीवनभरका अनेकौं अनुभवहरू र ज्ञान बाँड्न अवसर दिएको छ।
नवराजको कथा र कार्यले यो प्रेरणा ल्याउँछ कि जीवनको यात्रा गर्दा केही नयाँ कुरा सिक्ने र अनुभव गर्नु महत्त्वपूर्ण छ। नवराज भट्टराईको यो यात्रा केवल पर्यटनको अन्वेषण मात्र होइन, बरु जीवनको उद्देश्य बुझ्ने एक महत्त्वपूर्ण यात्रा सन्देश पनि हो। जसले हामीलाई एक नयाँ दृष्टिकोण दिन्छ कि जीवन हर्ष र सरलतामा मात्रै होइन, संघर्ष र उद्देश्यमा अविरल बग्दछ।