Gaurishankar Post
देश समाचार

समाजसेवी सोभित उप्रेती , जसले महामारीमा ८० लाखको स्वास्थ्य उपकरण दोलखामा जुटाए


दोलखा १९ असार,,,

दोलखाका एक समाजसेवीले कोरोना माहमारीको दोस्रो लहरमा अक्सिजन अभाव खेपेका जिल्लाका ३२ सरकारी स्वास्थ्य संस्थाहरुलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ सहित ८० लाख रुपैयाँ बराबरको उपकरण र स्वास्थ्य सामग्री जुटाएका छन्।

दोलखाको शैलुङ गाउँपालिका ८ शैलुङ्गेश्वर स्थायी घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं समाजसेवी शोभीत उप्रेतीले आफ्नो पहलमा जिल्लाका ३२ सरकारी स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सुरक्षाका सामग्री जुटाएका हुन्।

नेपाल र चीनमा व्यवसाय गर्दै आएका उप्रेतीले चीनमा व्यवसाय गर्ने नेपाली व्यवसायीहरुको संस्था नेपाल चाईना ट्रेड एण्ड ईण्डष्ट्रीयल एशोसियसन, निर्माण व्यवसायी सहदेव खड्का साथै आफ्नो निजी लगानीमा जुटाएका उपकरण गृह जिल्ला दोलखाका प्रायः गाउँका स्वास्थ्य चौकीहरुमा पुर्‍याएका छन् भने केही पुग्ने चरणमा रहेको उनले बताएका छन्।
उप्रेतीको पहलमा जुटेको ३४ वटा अक्सिजन कन्सन्ट्रेटर मध्ये दोलखाको कालिञ्चोक गाउँपालिकामा ४, विगु १, गौरीशंकर २, मेलुङ ७, भीमेश्वर नगरपालिका ४, शैलुङका २ साथै छिमेकी रामेछापको उमाकुण्ड र दोरम्बा गाउँपालिकामा १र१ गरेर २२ वटा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर पुगिसकेको ति गाउँपालिकाका स्वास्थ्य शाखाहरुले जानकारी दिएका छन्। जिल्लाको जिरी नगरपालिकामा ३, वैत्येश्वर गाउँपालिकामा ५ र तामाकोसी गाउँपालिकामा ३ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन तयारी हालतमा राखिएको उप्रेतीले सुनाए। यस्तै सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताललाई अक्सिजन जेनेरेटर मेसिन पठाईएको उनले सुनाए। बिजुली नभएपनि २४ घण्टासम्म निरन्तर अक्सिजन दिएर चलाउन सकिने उक्त मेसिन चिनियाँ कम्युनिष्ट पार्टी एक सय वर्ष पुगेको अवसरमा नेपालका बिभिन्न राजनीतिक दललाई प्राप्त हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्राप्त भएको ५ मध्ये एउटा चरिकोट अस्पताललाई पुर्‍याइएको उप्रेतीले जानकारी दिए। स्वदेशी मूल्य करिब २९ लाख पर्ने अनुमान गरिएको नयाँ प्रविधिको उक्त जेनेरेटर पहिलो पटक नेपालमा भित्रिएको हो।
उप्रेतीको पहलमा दोलखामा जुटेका अक्सिजन कन्सन्ट्रेटर सकभर सबै गाउँपालिकालाई समेट्ने कोशिस गरिएको उनका हितैषी एवं दोलखा जिल्लावासी समेत रहेका बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए। ‘विकट गाउँहरुका सरकारी स्वास्थ्य संस्थालाई प्राथमिकता दिएर कोरोना संक्रमण व्यवस्थापनको समयलाई सरकारी स्वास्थ्य संस्थाको विकास र उपकरण थप गर्न उपयोग गर्नु राम्रो काम हो’, उनले भने।

उनको पहलमा आएको कन्सन्ट्रेटरले आफ्नो पालिकाका ४ वटा विकट गाउँमा सहज भएको कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक सुशिल श्रेष्ठले बताए। पालिकामा आएको कन्सन्ट्रेटर कालिञ्चोकको १, ४, ५ र ९ नं वडाका स्वास्थ्य चौकीहरुमा राखिएको श्रेष्ठले बताए।

व्यवसायसंगै समाजसेवामा सक्रिय उप्रेतीले अक्सिजन कन्सन्ट्रेटर बाहेक निजी खर्चमा दोलखाकै स्वास्थ्य संस्थाहरुमा ८० हजार थान मास्क, २०० लिटर सेनिटाइजर, ६ सय पिस एन्टिजेन किट, ४० पिस अक्सिमिटरसमेत सहयोग गरेका छन्। जिल्लामा कार्यरत जनपथ र सशस्त्र प्रहरीलाई १६ हजार थान र पत्रकारलाई ४ हजार थान मास्क समेत सहयोग पठाएका छन्।

यस्तै उप्रेतीले कोरोना संक्रमणबाट निधन भएका स्वर्गीय पत्रकार रविन्द्र गौतमका छोरीहरुको नाममा पत्रकार महासंघले सञ्चालन गरेको अक्षय कोषमा १ लाख, पत्रकार महासंघ दोलखा शाखाको कल्याणकारी कोषमा १ लाख, चरिकोट अस्पतालमा बिरामीहरुका लागि औषधि खरिद गर्न ४८ हजार, अक्सिजन खरिद गर्न मेरो एक हजार अभियानलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

दोलखा जिल्लामा उप्रेतीसंगै अन्य दाताहरुले समेत स्वास्थ्य सामग्री पठाएपनि गाउँपालिकाहरुसंग त्यसको लेखाजोखा छैन। कतिपय दाताले गाउँपालिकालाई समन्वय नगरी सिधै स्वास्थ्य चौकीहरुमा लगेर दिएका कारण आफूहरुलाई जानकारी नभएको पालिकाका स्वास्थ्य संयोजकहरुले सुनाए।

कालिञ्चोकको सिंगटी अस्पताललाई क्षेत्रपाका युवाहरुले दुई ओटा, वैत्येश्वर, जिरी र गौरीशंकरमा कांग्रेस नेता कुन्दनराज काफ्लेले ३ वटा, भीमेश्वरमा जर्मन नेपाल सहयोग संस्थाले एउटा, चरिकोट अस्पतालमा करुणा फाउण्डेसनले ५ ओटा, शैलुङ र तामाकोसीमा पूर्व मन्त्री आनन्द पोखरेलले २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको ति पालिकाका स्वास्थ्य शाखाहरुले जनाएका छन्। त्यस्तै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपान ले पनि दोलखालाई १ थान अक्सिजन कन्सन्टेटर , १८ थान ठुलो अक्सिजन सिलिण्डर र पिपिइ तथा अक्सोमिटर उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रेमसम्बन्धकै कारण दोलखामा प्रेमिकाका आफन्तद्धारा घाँटी रेटेर युवकको हत्या

shyam khatiwada

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

पशुपतिडाँडा पिएचसी सडकको काम धमाधम सुरु , मौसम उपयुक्त भए तत्काल कालोपत्रे हुने

shyam khatiwada
Gaurishankar Post