दोलखा ९ माघ,,
बागमती प्रदेश सरकारले सञ्चालन गरेको दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पतालले सेवाग्राहीलाई चर्को शुल्क लिएर उपचार सुरु गरेपछि जिल्लाका नागरिक अगुवाहरुले बिरोध जनाएका छन् ।
जिल्लामा सञ्चालित अन्य निजी अस्पतालले भन्दा धेरै शुल्क निर्धारण गरि सेवा सुरु भएको भन्दै नागरिक समाजका अगुवा, उद्योगी व्यसायी तथा सञ्चारकर्मीले एक अपिल जारी गर्दै बिरोध जनाएका हुन् । प्रदेश सरकार मातहत सञ्चालनमा रहेको यो अस्पतालले विगतदेखि निशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएकोमा अहिले अस्पताल सञ्चालनका लागि स्रोत अभाव भएको भन्दै केही दिन अघि शुल्क निर्धारण गरि सेवा सुरु गरेको थियो । अस्पतालले आर्थिक अभाब हुँदै गएको र व्यवस्थापनमा संकट सुरु भएको कारण देखाउँदै महंगो शुल्क निर्धारण गरेको छ ।
विगत देखिनै निशुल्क रुपमा विरामीको उपचार गर्दै आएको अस्पतालमा माघ १ गतेबाट टिकट, बिभिन्न रोगको परिक्षण, ल्याब, एक्स–रे, विरामी भर्ना लगायतमा नीजि अस्पतालको भन्दा बढी शुल्क लगाएको विरोधमा नागरिक अगुवा र अन्य क्षेत्रका प्रतिनिधिहरुले संयुक्त अपिल जारी गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
यस अघि प्राथामिक स्वास्थ्य केन्द्र रहेको अस्पताललाई तत्कालिन सरकारले न्याय हेल्थ नेपाल नामक गैरसकारी संस्थालाई निशुल्क उपचार सहितको बिशेषज्ञ सेवा दिने गरी २०७२ सालमा १० बर्षका लागी व्यबस्थापनको जिम्मा दिएको थियो । कोरोना महामारीका कारण उक्त संस्थाले हात झिकेपछि उक्त अस्पताल प्रदेश सरकारले सञ्चालन गर्नेगरि व्यवस्थापनको जिम्मा लिएको थियो ।
नागरिक समाज दोलखाका अगुवा एवं पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडाले तत्काल शुल्क लिने निर्णय तत्काल खारेज नगरे आन्दोलन सुरु गर्न बाद्य हुने जनाएका छन् । खतिवडाले सरकारले समेत स्वास्थ्य क्षेत्रलाई मौलिक हकका रुपमा स्थापित गरि कतिपय सेवाहरु निशुल्क गरिरहेको अवस्थामा पशुपति चौलागाई अस्पतालले जिल्लाका गरिब र निमुखा जनताहरुलाई ढाड सेक्नेगरि शुल्क तोक्नु गलत भएको बताएका छन् । नागरिक समाज र सरोकारवालाहरुको तर्फबाट अपिल पत्र बुझाउँदै पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले सरोकारवालाई समेत परामर्श नगरी शुल्क तोकेर जबरजस्ती लाद्न खोजेको भन्दै तत्काल उक्त निर्णय खारेज गर्न माग गरेका छन् । अपिल पत्र बुझाउने क्रममा प्रेस काउन्सिल नेपालका सदस्य एवं नागरिक समाज दोलखाका अगुवा चिरञ्जीबी मास्केले स्रोतको सुनिश्चित गर्न अन्य विकल्पहरुको खोजी गर्नुपर्ने बताउदै बिरामीहरुलाई त्यो चर्को शुल्क लगाउनु गलत भएको जनाएका छन् ।
यथास्थितीमा अस्पताल सञ्चालन गर्न असहज भयो प्रमुख श्रेष्ठ
पशुपति चौलागाई स्मृति प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन (मेसु) डा. ज्ञानेश्वर श्रेष्ठले दोलखाका नागरिक अभियन्ताहरुले उठाउनु भएको सवाल जायज भएपनि यथा अवस्थामा अस्पतालले निशुल्क सेवा दिन असम्भव रहेको बताएका छन् । अस्पतालमा रहेका ७२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु मध्य २९ जना समिति अन्र्तगत करारमा रहेकोले उनीहरुलाई तलब दिनको लागि पनि शुल्क लगाउनु पर्ने बाध्यता रहेको डा. श्रेष्ठको भनाई छ ।
अस्पतालमा रहेका ७२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु मध्य २९ जना अस्थायी र ८ जना स्थायी स्वास्थ्यकर्मी तथा कर्मचारीहरु को तलब र अन्य विषयगत बजेट प्रदेशले पठाउने भएपनि समितिको करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु को तलब सुविधाको लागि अन्यत्रबाट सहयोग नजुट्दासम्म निशुल्क गर्न कठिनाई हुने डा. श्रेष्ठको भनाई छ । समितिको करारका कर्मचारीहरुको लागिमात्र मासिक १० लाख खर्च हुने अस्पतालले जनाएको छ ।
व्यक्तिगत रुपमा आफुले कुनै निर्णय गर्न नसक्ने भएकोले नागरिक अभियन्ताहरुको अपिल आफुले व्यवस्थापन समितिमा छलफलको लागि राख्ने डा. श्रेष्ठले जनाएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामेश्वर मानन्धर, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई, पत्रकार महासंघ बागमती प्रदेशका सदस्य श्याम खतिवडा , दोलखा पत्रकार महासंघका पूर्व अध्यक्ष जीवन लामा, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्णबहादुर वस्नेत, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, दोलखा चेम्बर अफ कर्मशका अध्यक्ष बिष्णु श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, पत्रकारहरु दिलबहादुर केसी, शम्भु गौतम, श्रृजन घिमिरे, नवराज शिवाकोटी, सुजन काफ्ले, गोकर्ण भण्डारी लगायतले जारी गर्नु भएको अपिलमा नागरिकको मौलिक हकको सम्मान गर्दै निशुल्क एवं गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरिएको छ ।