लगानीकर्ता उत्साहित, २४ घण्टाभित्र तोकिएको २५ मेगावार्ट विद्युत उत्पादन हुने ।
दोलखा १ साउन,,
दोलखाको कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावार्ट क्षमताको सिंगटी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
यसअघिनै निर्माण सम्पन्न भई सबै संरचनाहरुको सफल परिक्षण समेत भैसकेको सिंगटी खोलाले उत्पादन गरेको विद्युत शुक्रबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रबद्र्धक कम्पनी सिंगटी हाइड्रो इनर्जीले उत्पादीत विद्युत सिंगटी लामोसाँघु प्रसारण लाइन मार्फत नेशनल ग्रिडमा जोडिएको जानकारी दिएको छ । कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले आयोजनाबाट उत्पादित विद्युत नेशनल ग्रिडमा जोडिएको जानकारी दिएका छन् । उनका अनुसार सिंगटी लामोसाँघु प्रसारणलाइनको परिक्षण सफल भएपछि उत्पादित विद्युत सोही प्रसारण लाइनमार्फत नेशनल ग्रिडमा जोडिएको हो ।
आयोजनाको सोरुङदेखि सिंगटीसम्मको ५ हजार ६ सय ७ मिटर लामो प्रेसर टनेलबाट पहिलो चरणमा प्रतिसेकेण्ड ५ हजार लिटर पानी छोडिएको र जसबाट विद्युतगृहका २ वटा टर्वाइनमार्फत विद्युत उत्पादन भएको छ । आयोजनामा १ हजार एक सय मिटर पेनस्टक र २ सय ५८ मिटर हेड रहेको छ । आयोजनाका इन्जिनियर अशोक पन्थीका अनुसार शुक्रबार दिउसोको ३ बजेदेखि उत्पादित विद्युत प्रशारण लाइनमा जोडिएको हो । इन्जिनियर पन्थीले वर्षाको समय भएकाले खोलामा प्रयाप्त पानि भएका कारण क्रमश २४ घण्टाभित्र तोकिएको २५ मेगावार्टनै विद्यूत उत्पादन हुने र उत्पादीत विद्युत नेशनल ग्रिडमा थपिने बताएका छन् ।
२०७३ अन्तिमबाट सिभिल संरचना निर्माणको काम सुरु गरिएको आयोजना झण्डै डेढ वर्ष अघिनै निर्माण सम्पन्न भएपनि प्रशारण लाइन समयमा निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन गरिएको थिएन । बिहिबार बेलुकीबाट सिंगटी लामोसाँघु प्रसारण लाइन सञ्चालनमा आएलगत्तै सिंगटी जलविद्युत आयोजनाले आफ्नो उत्पादन नेशनल ग्रिडमा जोड्न सफल भएको सिंगटी हाइड्रोका कम्पनी सचिब सुदिप खड्काले जानकारी दिए । खड्काले प्रशारण लाइन निर्माण सम्पन्नका लागि समेत आयोजनाका तर्फबाट आबश्यक सहयोग गरेको बताए । उनले अव सिंगटीले निरन्तर पुरै क्षमतामा विद्युत उत्पादन गर्ने जानकारी दिएका छन् ।
“सुपर सिक्स” मध्येको नमुना आयोजना
नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागबाट विजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । प्राधिकरणले तत्कालिन समयमा दोलखाका २ वटा आयोजना सिंगटी र खारेखोला , संखुवासभाको मायाँ खोला , ताप्लेजुङको मेवा खोला र सोलुखुम्बुको अप्पर सोलु सहित अर्को एक आयोजना निजी क्षेत्रलाई दिएको थियो । त्यसमध्ये सबैभन्दा पहिला आयोजना निर्माण सम्पन्न गरि उत्पादित विद्युत नेशनल ग्रिडमा जोड्ने सिंगटी पहिलो आयोजना हो । अप्पर सोलु निर्माण पुरा भएपनि प्रसारण लाइन अभाबका कारण नेशनल ग्रिडमा जोडिएको छैन । अन्य आयोजनाहरु केही निर्माणाधिन अवस्थामा छन भने केहीले अहिलेसम्म पनि निर्माणको सुरुवात गरेका छैनन् । नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले निजी क्षेत्रले निर्माण गरेका आयोजनामध्ये सिंगटी सफल र भरपर्दो आयोजना भएको दाबी गर्ने गरेका छन् । उनिहरुले ट्रान्समिसन लस असाध्यै छोटो हुनुनै आयोजनाको सुन्दर पक्ष रहेको जिकिर गरेका छन् । आयोजनाको विद्युतगृहदेखि प्राधिकरणले निर्माण गरेको सवस्टेसन सम्मको दुरी २ सय मिटर मात्रै छ ।
३ वर्षमा आयोजना सम्पन्न
२०७३ अन्तिमबाट निर्माण सुरु गरिएको आयोजना ३ वर्ष भित्रै सम्पन्न भएको थियो । डेढ वर्षदेखि प्रसारण लाइनकै कारण अड्केर बस्नुपरेको निर्देशक कार्की बताउछन् । नयाँ पत्रिकासँग कुरा गर्दै कार्कीले भने समयमा प्रशारण लाइन निर्माण सम्पन्न नहुँदा डेढ वर्षदेखि सम्पन्न भएको आयोजनाबाट विद्युत उत्पादन गर्न सकिरहेका थियनौं , बल्ल हाम्रो उद्देश्य पुरा भएको छ । कार्कीेले २ सय मिटरको दुरीमा सवस्टेसन हुनु , खोलामा आबश्यक पर्ने पानी प्रयाप्त हुनु जस्ता थुप्रै सकरात्मक कारणले पनि आफुहरु उत्साहीत भएको जनाएका छन् । आयोजना निर्माण सम्पन्न हुदा अहिलेसम्मको लागत ५ अर्ब ५० करोड पुगेको आयोजनाले जनाएको छ । विद्युत उत्पादन भएपछि आयोजनाले वार्षिक ७२ देखि ७५ करोड रुपैंया सम्मको विद्युत विक्रि गर्ने प्रक्षेपण गरिएको कम्पनीका अध्यक्ष बटु लामिछानेले जानकारी दिएका छन् ।
फोटो
सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्र । विद्युतगृह । तस्बिर gaurishankarpost.com