सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका(५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले जम्बु बजार बगाएको हो ।
बाढीको बितण्डामा परेर यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् । २ जनाको शव फेला परेको छ । बाह्रबिसे नगरपालिका(५ निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव स्थानीयले बिहान पाँच बजे नै फेला पारेका छन् । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिए ।
उद्धार कार्यमा सबै सुरक्षा निकायलाई परिचालन गरिएको शेर्पाले बताए । बाढीले जम्बु बजार, खाकदल बजारका १० वटा टहरा र दर्जनौं ठाउँमा सडक बगाएको उनले बताए । जुरेमा पहिरो आएकोले अरनिको राजमार्ग समेत अवरुद्ध छ ।
साथै बाढीले मध्यभोटेकोसी जलविद्युत आयोजनाको लजिष्टिक गोदाम बगाएको छ । कोदारी राजमार्गको जम्बुखण्ड बगाएकोले आवत(जावत बन्द छ । बाढीले सडक बगाएपछि बाह्रबिसे र तातोपानीको सम्बन्धबिच्छेद भएको छ । बाढीबाट बाँच्न सफल भएका स्थानीय गाउँभन्दा पाँच सय मिटरमाथि खेतमा गएर बसेका छन् ।
यसैगरी बाह्रबिसेका युधीर पौडेलले दिएको जानकारीअनुसार भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित बुल्कोटे खोलाले एक घर बगाएको छ । बाह्रबिसे छेउमै रहेको खाकदल खोलामा बाढी आउँदा राती नै स्थानीय खाकदल बजार छोडेर भागेका छन् । भोटेकोसीमा आएको ठूलो बाढीले बाह्रबिसे तल्लो बजारको एक घर बगाएको छ । बाढीले मोटरेबल पुलको एक भागलाई धक्का दिइरहेकोले पुलमा पनि क्षति पुगेको छ ।
जम्बु बजार बगाएर गाउँ नै भोटेकोसीमा मिसिएपछि बाह्रबिसे बजारवासी घर छोडेर राती नै सुरक्षित ठाउँतर्फ भागेका छन् । बाढीको त्रासले लिपिङदेखि खाडिचौरसम्म रहेका तटीय क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् । कोदारी र अरनिको राजमार्ग ठाउँठाउँमा बगाएकोले उद्धार कार्यमा कठिनाई भइरहेको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।