Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

सुनखानी साङ्बा सडकको बाबरे लामिडाँडा खण्डबाट कालोपत्रेको काम सुरु


जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
श्याम खतिवडा
दोलखा २७ बैशाख

दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी साङ्बा सडकमा कालोपत्रेको काम सुरु भएको छ ।
बागमती प्रदेश सरकारको लगानीमा दुई वर्ष अघि निर्माण सुरु भएको उक्त सडकमा कालोपत्रेको काम सुरु भएको हो । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले व्यवस्थापन गरिरहेको उक्त सडक आयोजनाको कालोपत्रेको काम यही जेठ मसान्तभीत्र सम्पन्न गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ । कालिञ्चोक गाउँपालिका ६ को पाटागाउँस्थित दुधपोखरी पहिरो देखी बाबरेको लप्सीबोटे सम्म १५ किलोमिटर खण्ड कालोपत्रेको काम भैरहेको पुर्वाधार विकास कार्यालयका इन्जिनियर परमानन्द आचार्यले जानकारी दिए । उनका अनुसार हाल बाबरेको लप्सीबोटेबाट कालोपत्रेको काम सुरु गरी अहिले लामिडाँडाको घ्याङ सम्म झण्डै डेढ किलोमिटर कालोपत्रे गरिसकिएको छ । इन्जिनियर आचार्यले यहि रफ्तारले काम भए तोकिएकै समय अवधि भित्र उक्त सडक कालोपत्रे सम्पन्न हुने विस्वास व्यक्त गरे ।
पुर्वाधार विकास कार्यालयले दुई वर्ष अघि उक्त सडकको स्ट्रक्चर सहित कालोपत्रे गर्न ४४ करोडको लागतमा ठेक्का आह्वान गरेकोमा ठेकेदार कम्पनी के.एस. सुनकोसी जेभीले झण्डै १७ करोड घटेर २७ करोड लागतमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि कुसल खड्काका अनुसार मौसमको साथ र कुनै काबु बाहिरको परिस्थिती सृजना नभए जेठ मसान्त भित्र कालोपत्रेको काम सम्पन्न हुनेछ । खड्काले बिगत बर्षका बाढि पहिरो लगाएतका प्राकृतिक प्रकोप र बिचमा सरकारले क्रसर उद्योग बन्द गर्दा यस अघि नै सम्पन्न हुने उक्त आयोजनामा केही ढिलाइ भएको प्रतिक्रिया दिए । खड्काले लापिलाङ् गाउँमा गएको बिशाल पहिरोले सुरुवाती समयमा निर्माण सामाग्री ढुवानीमा निकै कष्ट व्यहोर्नुपरेको समेत गुनासो गरेका छन् । वर्षौंदेखि झरेको लापिलाङ पहिरोका कारण उक्त सडक समेत बगेको थियो । पहिरोले सडक बगाएपछि स्थानीयले बस्तीभन्दा माथिबाट सडकको निकास खोलेका थिए ।
आक्स्पाल्ट कङ्क्रिट प्रविधिको कालोपत्रे भैरहेको उक्त सडक सम्पन्न हुँदा दोलखाको उपल्लो उत्तरी गाउँहरु सदरमुकाम चरिकोटसँग नजिकिने छन् । सडक कालोपत्रे सम्पन्न हुँदा उत्तरी बस्तीहरु लापिलाङ् , लामिडाँडा , बाबरे , कालिञ्चोक हुदै खोपाचागुको साङ्बा बजार , विगु गुम्बा , चिलंखा र आलम्पुका यात्रुहरुलाई निकै सहज हुने छ ।
फोटो क्याप्सन
कालोपत्रे सुरु भएको दोलखास्थित सुनखानी साङ्बा सडकको लप्सीबोटे क्षेत्र । तस्बिर – gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल

shyam khatiwada

देशैभर आंशिक रूपमा खुल्न थाले पसल : व्यवसायीले खोल्ने, प्रहरीले बन्द गराउने क्रम जारी

shyam khatiwada

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार

shyam khatiwada
Gaurishankar Post