Gaurishankar Post
समाचार

हुलाकी राजमार्गमा पुल निर्माण हुने भएपछि स्थानीयहरुमा खुसियाली

सर्लाही ६ पौष,,,

सर्लाही र रौतहटलाई जोड्ने हुलाकी राजमार्गको बागमती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्। लामो समयदेखि अलपत्र रहेको पुल निर्माणको लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयबासीमा खुसी देखिएको हो।  

२०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको बागमती नदीको पुलको निर्माण हुँदाहुँदै निर्माण कम्पनीले छोडेको थियो। एक दशकभन्दा लामो समयदेखि अलपत्र रहेको पुलको निर्माणको लागि हुलाकी राजमार्ग आयोजनाद्वारा हालै बोलपत्र आह्वान गरिएको छ। बोलपत्र आह्वान भएपछि पुल निर्माण हुने आशा सर्लाही र रौतहटका स्थानीयबासीमा पुनः पलाएको छ।  

पुल नभएपछि सर्लाहीबासीलाई रौतहट र रौतहटबासीलाई सर्लाही पुग्न भारत भएर ओहोरदोहोर गर्नुपर्ने हुन्छ। नेपालकै बाटो जानको लागि कम्तीमा ३५ किलोमिटर लामो उत्तरतिर पूर्व–पश्चिम राजमार्ग पुगेर फेरि त्यत्तिकै बाटो फर्किनु पर्ने हुन्छ। रौतहटको समनपुर र धर्मपुरस्थित बागमती नदीमा पुलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि सडकको निर्माण नहुँदा अझै सजिलो गरी पुल संचालनमा आउन सकेका छैनन्।

रौतहटतिर हुलाकी सडक निर्माणमा निकै प्रगति भएको देखिए पनि सर्लाहीतिरको काम भने अधुरै रहेको छ। चालू आर्थिक वर्षमा सर्लाहीतिरको हुलाकी सडक पनि निर्माण हुने अपेक्षा गरिएको छ। दुवैतिर गाडी चल्न योग्य सडक बनिसकेको अवस्थामा पनि बागमतीमा पुल नहुँदा दुवै जिल्लाका स्थानीयबासीलाई सडक बन्दा पनि हर्ष न विस्मातको अवस्था रहेको थियो। अब बोलपत्र आह्वान भएपछि पुल निर्माणको औपचारिक प्रक्रिया सुरु भएकाले पुल निर्माण हुनेमा आशा बढेको बडहर्वाका स्थानीय सुधिर साहले बताएका छन्।  

हुलाकी सडकको बागमती नदीमा पुल निर्माणको लागि समय समयमा विभिन्न टोलीद्वारा दबाब दिइदै आएको थियो। पुल निर्माणको लागि संसदीय अनुगमन समितिको टोली, जिल्ला प्रशासन कार्यालय रौतहटको टोली, हुलाकी सडक आयोजनाको टोलीले कैयौँपटक स्थलगत अनुगमन गरेको थियो। विभिन्न मन्त्री तथा नेताहरुले पनि स्थलगत अनुगमन गरी पुल निर्माणको आश्वासन दिने गरेका थिए।  

अहिले बोलपत्र आह्वान गरिएको पुलको प्राविधिक डिजाइनमा केही परिवर्तन गरिएको हुलाकी राजमार्ग आयोजना टेकु काठमाडौँका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराएका छन्। साथै पुलको स्पान थप गर्ने, नदीको धार परिवर्तन गर्ने, पुलको एप्रोच सडक बनाउने र विम ढलान गर्ने लगायतको कामको लागि झन्डै असी करोड रुपैया बराबरको रकम विनियोजन गरेर बोलपत्र आह्वान गरिएको आयोजना निर्देशक झाको भनाइ छ।  

पुलको निर्माण भएपछि सर्लाही र रौतहटका लाखौँ बासिन्दा लाभान्वित हुनुका साथै यस क्षेत्रको व्यवसाय र रोजगारमा वृद्धि हुने सर्लाहीको बलरा नगरपालिकाको छतौना गाउँका मनमोहन सिंहको भनाइ छ। हुलाकी सडकको निर्माण कार्य पूरा भएको देख्न पाउन यस क्षेत्रको बासिन्दाको सपना भएको र समृद्धिको आधार भएको पनि सिंहको भनाइ रहेको छ।  

पुल निर्माणको लागि बोलपत्र आह्वान भएपछि सर्लाहीमा पनि खुसीको संचार भएको सिंहको भनाइ छ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले दोलखाकी प्रभावशाली महिला नेतृ सुबेदी , उपसचिबमा भिड्दै , यस्तो छ उनको संघर्षको कथा

shyam khatiwada

क्यान्सर पिडित महिलालाई तरुण नेता खड्काको आर्थिक सहयोग

shyam khatiwada

प्रेस युनियनका महासचिब शिवाकोटीद्धारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा, मतदानका लागि सबैमा अपिल

shyam khatiwada
Gaurishankar Post