निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने
नेपालको बिजुली देशमै खपत हुने सुवर्ण अवसर -इप्पान उपाध्यक्ष कार्की
दोलखा ३१ असार
११ वर्ष अघिदेखि निर्माण सुरु भएको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन पूरा भई बिहिबारबाट सञ्चालनमा आएको छ ।
झण्डै १ महिना अघि निर्माण सम्पन्न भएको सिंगटी लामोसाँघु प्रसारणलाइन सबै परिक्षणपश्चात बिहिबार बेलुकीबाट सञ्चालनमा आएको हो ।
ठेकेदार कम्पनीको बेवास्ताले ११ वर्षदेखि अलपत्र रहेको प्रसारण लाइन बल्ल पुरा भएको हो । प्रसारण लाइन निर्माण पुरा भएसँगै दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न भएका र निर्माणाधिन निजी क्षेत्रले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । प्रसारण लाइनको सिंगल सर्किट बिहिबार बेलुकी चार्ज गर्ने काम पुरा भएको आयोजनाले जनाएको छ । प्रसारणलाइन सञ्चालनमा आएसँगै दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजना उक्त लाइनमार्फत नेशनल ग्रिडमा जोडिने भएका हुन् ।
प्रसारण लाइन निर्माण आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले सबै संरचनाको सफल परिक्षणपछि बिहिबारबाट सञ्चालनमा आएको जानकारी दिए । निर्माण पुरा भएका केही टावरमा प्रोटेक्सनको काम सम्पन्न भएको र इन्सुलेसन टेस्टिङको काम समेत पुरा गरि लाइन चार्ज सुरु गरिएको आयोजना प्रमुख ढुंगेलले बताए । यसअघि केही ठाउँमा लाइन क्लियर गर्ने समस्याका कारण पनि केही दिन ढिलो भएको र बिचमा नेपाल प्राधिकरणको व्यवस्थापन तहसँगको सहकार्यमा प्रशारण लाइन सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
नेपालको बिजुली देशमै खपत हुने सुवर्ण अवसर इप्पान
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका उपाध्यक्ष एवं नेपालका लागि मैरिससका वाणिज्य दुत गणेश कार्कीले प्रसारण लाइन सम्पन्न भएर नेपालको विजुली देशमै खपत हुने सुवर्ण अवसर सिर्जना भएको बताए । कार्कीले ठेकेदार कम्पनीका कारण काममा ढिलाई भएपनि अब भने सिंगो देशकै लागि राम्रो भएको बताएका छन् । वर्षौ देखि रुग्ण रहेको आयोजना सफल भएको छ कार्कीले भने ‘स्वतन्त्र उर्जा उत्पादक , लगानीकर्ता , सरकार र आम नागरिक सहित देशको अर्थतन्त्रमा समेत यसले अत्यन्तै सकरात्मक प्रभाब पार्ने छ ’ ।
सिंगटी हाइड्रोका कार्यकारी निर्देशक समेत रहेका कार्कीको कम्पनीले प्रसारणलाइन निर्माणका लागि आयोजनाका तर्फबाट गएको बैशाखदेखि आबश्यक सहयोग सहित करोडौं लगानी गरेको जनाइएको छ ।
भारतिय ठेकेदार कम्पनीका कारण ढिलाई
नेपाल विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग २ वर्षमा सम्पन्न गर्नेगरी सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सबस्टेसन समेत निर्माण गर्ने उल्लेख थियो । तर दर्जनौं बाहाना बनाएर उक्त कम्पनीले आलटाल गर्दै आयोजना अलपत्र बनाएको थियो । सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो । ठेक्का सम्झौता भएपश्चात पनि पटक पटक ठेकेदार कम्पनी सम्पर्क विहिन भएको थियो । त्यसपछि पुःन काम गर्छु भन्दै प्राधिकरण पुगेपछि सोही कम्पनीलाई पहिलो पटक म्याद थप गर्दा पनि सम्पर्कविहीन हुँदा आयोजना लम्बीएको हो ।
आयोजना अलपत्र बनेपछि ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरेको थियो । आफ्नो कम्पनीबाट उत्पादीत विद्युत विक्री गर्नै समस्या भएपछि ग्रिनलाइफले अराबेलीसँगको सहकार्यमा काम अघि बढाएको थियो । अहिले सोही कम्पनीको नेतृत्वमा आयोजना निर्माण सम्पन्न भएको हो । आफ्नो आयोजनाको विद्युत् चाँडै आउने भएपछि अरावलीको काम लिएर चाँडै प्रसारण लाइनको काम गर्ने गरी अग्रसर भएको ग्रिन लाइफ पछिल्लो समय आफ्नै आयोजना समस्या भएपछि प्रसारण लाइनको काम समेत सुस्त बनेको थियो ।
१ सय २४ वटा टावर निर्माण
४० किलोमिटर लामो प्रसारण लाइनमा १२४ वटा टावर निर्माण भएका छन् । बिहिबारबाट सिंगल सर्किट पूरा भइ सञ्चालनमा आएपछि तत्काल विद्युत् प्रसारण गर्न मिल्ने भएको छ । प्रसारण लाइनमा सबैभन्दा पहिले सिंगटी खोलाले उत्पादन गरेको २५ मेगावार्ट विद्युत जोडिने छ ।
यि हुन प्रसारण लाइनमा तत्काल जोडिने आयोजनाहरु
उक्त प्रसारण लाइन मार्फत २५ मेगावार्टको सिंगटी खोला, १० मेगावाटको सिप्रिङखोला , ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोलाको विद्युत् जोडिने छन् । सिंगटी खोलाको आयोजना व्यवस्थापनले पनि प्रसारणलाइन चाँडै पूरा गराउन ४ महिनादेखि आयोजनालाई सहयोग गर्दै आएको थियो ।
३० मेगावाटको खानी खोला र ४० मेगावाटको खानी खोला १ आयोजनाले काम अन्तिम चरणमा पुगेर पनि विद्युत् उत्पादन गर्न सकेका छैनन् । यसले आयोजनाका लागत बढाइरहेको भएपनि अब भने तत्काल विद्युत उत्पादनको तयारीमा लाग्ने ति आयोजनाहरुको तयारी छ ।
फोटो
बिहिबार सञ्चालनमा आएको सिंगटी लामोसाँघु प्रसारण लाइन अन्तर्गतको लामोसाँघु सबस्टेशन ।
गणेश कार्की , उपाध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपाल । gaurishankarpost.com