दोलखा २७ साउन
क्वारेन्टाइनमा बसेका २ जनालाई कोरोना संक्रमण पुष्टी भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल गरिएको छ ।
आइतबार क्वारेन्टाइनमा बसेका नागरिकहरुको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सिंगो गाउँपालिकानै सिल गरिएको हो । स्थानीय विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा बसेका ७ जनाको पिसिआर परिक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको गौरीशंकर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मिले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टी भएका २ जनामध्ये एक जना गाउँपालिका मातहतकै कर्मचारी हुन भने अर्का एक जना बिदेशबाट फर्किएका स्थानीय हुन् । उनिहरु दुबैलाई आइसोलेसनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार खड्काले जानकारी दिए । उनका अनुसार गाउँपालिका मातहतको कर्मचारीलाई समेत संक्रमण देखिएपछि स्थानीय सुरी प्राथमिक स्वास्थ्य केन्द्र सहित सिंगो गाउँपालिका सिल गरिएको हो ।
बुधबार जिल्ला सदरमुकाम चरिकोटबाट थप स्वास्थ्यकर्मी सहित एक टोली गौरीशंकर गाउँपालिका पठाइने जिल्ला स्थित संकट व्यवस्थापन समितिले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत खड्काले जिल्लाको टोली आएर संक्रमितसँग सम्पर्कमा पुगेका र अन्य संकास्पद सबैको कन्ट्रयाक ट्रेसिङ गरिने र रिपोर्ट आएपछि मात्रै गाउँपालिका र अन्य सेवा सुचारु गरिने निर्णय भएको जानकारी दिएका छन् । सिंगो गाउँपालिका सिल भएसँगै अत्याबश्यक बाहेक अन्य सेवा बन्द हुने भएका छन् । गाउँपालिका प्रबेश गर्ने भोर्ले नाका सहित अन्य नाकाहरुमा समेत कडाई गरिएको छ । अत्याबश्यक सेवा भने सुचारु रहने गाउँपालिकाले जनाएको छ ।