श्याम खतिवडा
दोलखा २० माघ
अत्याधिक चिसोका कारण कठिंग्रिएका दोलखाका ५१ जना असहाय महिला तथा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
लामो समय खँडेरी परेको र वर्षा हुन नसकेपछि बढ्दै गएको चिसोका कारण अनाथ बालबालिका र पिडित महिलाहरुको स्वास्थ्यमा नराम्रो असर पर्ने भन्दै न्यानो कपडा वितरण गरिएको हो । जिल्ला विपत व्यवस्थापन कोषबाट गौरीशंकर बालगृह र आवाज नेपालमा आश्रय लिएर बसेका ५१ जना असहाय महिला बालबालिकाहरुलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिएको जिल्ला स्थित विपत व्यवस्थापन कोषका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार आवाज नेपालमा आश्रय लिएर बसेका २० जना असाय महिला तथा बालबालिका र गौरीशंकर बालगृहमा रहेका ३१ जना बालबालिका गरि ५१ जनालाई जनही एक एक थान न्यानो कम्मल अर्थात ब्ल्याङ्केट उपलब्ध गराइएको छ ।
विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमख जिल्ला अधिकारी शिवाकोटीले यस अघि दोलखाका सबै स्थानीय तहहरुलाई चिसो बाट पिडित हुनेहरुको विवरण सहित सहयोग उपलब्ध गराउन प्रस्ताबपत्र आह्वान गरेपनि कुनै स्थानीय तहले पनि प्रस्ताब पत्र नबुझाएका कारण आबश्यक्ताका आधारमा उनिहरुलाई सामाग्री वितरण गरिुउको जानकारी दिए । न्यानो कपडा वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डे , प्रजिअ शिवाकोटी , दोलखाका प्रहरी प्रमुख भेषराज रिजाल , रेडक्रस सभापति गोकर्ण पोखरेल , सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारी लगाएत सहभागी थिए । उक्त ब्ल्याङ्केट प्रति गोटा २ हजार का दरले एक लाख २ हजार खर्च भएको सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले जानकारी दिएका छन् ।