Gaurishankar Post
समाचार

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

दोलखा १४ असार
ठुला आयोजनाहरु सम्पन्न गर्न संघ र प्रदेश सरकारको मुख ताक्ने परिपाटी चलिरँहदा दोलखाको एउटा स्थानीय तहले आफ्नै अगुवाइमा सडक कालोपत्रे गरि जिल्लामै पहिलो सुरुवात गरेको छ ।
जिल्लाको बैतेश्वर गाउँपालिकाले आफ्नै अगुवाइमा समपुरक कोष बनाएर सबै वडाहरु जोडिने द्रुतमार्गमा कालोपत्रेको काम सुरु गरेको हो । गाउँपालिकाले तामाकोसी मन्थली सडकखण्डबाट गैरीमुदी जाने गोपीखोलादेखि १ नम्बर वडा कार्यालयसम्म पुग्ने सडकमा कालोपत्रे गरेको छ । बागमति प्रदेश सरकार सँगको सहकार्यमा बराबर बजेट विनियोजन गरि बनेको समपुरक कोषबाट सडक कालोपत्रेको सुरुवात गर्ने बैतेश्वर दोलखाकै पहिलो गाउँपालिका हो । कोरोना भाइरसका कारण भएको लकडाउनले काममा केहि ढिलाई भएको भएपनि बैतेश्वरले नमुना काम गरेको सरोकारवालाहरुले जनाएका छन् । गाउँपालिकाले ३ वटा सडक कालोपत्रे गर्ने योजना अघि सारेको थियो । गाउँपालिका अध्यक्ष छबि लामाले लामो समयको लकडाउनका कारण सडक कालोपत्रे गर्ने थप आयोजनाहरु पछि धकेलिएको बताए । उनका अनुसार तत्काल बुस्तीदेखि पुतलीकाठ जोड्ने सडकमा समेत कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ ।
५ वर्षभित्र सबै वडाका मुख्य सडकमा कालोपत्रे गरिने
अध्यक्ष लामाले ५ वर्षभित्र सबै वडा कार्यालयसम्म मुख्य राजमार्गबाट कालोपत्रेले जोड्ने लक्ष्यअनुसार पहिलो चरणमा ३ वटा सडकमा काम सुरु गरेको बताए । उनले गाउँपालिका केन्द्र र त्यसबाट वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।
गाउँपालिकाका सबै वडाबाट द्रुत गतिमा गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण गरेको बैतेश्वरले अहिले कालोपत्रे गर्ने र १२ महिना नै मुख्य सडकहरू सञ्चालन हुने गरी काम गरिरहेको अध्यक्ष लामाको भनाई छ । वैतेश्वरले यस अघिनै दु्रतमार्ग निर्माण पुरा गरि सबै वडाबाट एक घण्टाभित्र गाउँपालिका कार्यालय पाँडु डाँडा पुग्ने सडक संरचना निर्माण गरिसकेको छ ।
गोपीखोला गोपीटार सडकको एक किलोमिटर सडक कालोपत्रेको काम पुरा भएको गाउँपालिकाका प्रमुख इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिए । बुस्ती पुतलीकाठ सडक पनि केही दिनमै एक किलोमिटर सडक कालोपत्रे हुने उनले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ३ वटा सडकहरु गोपीखोला गोपीटार , बुस्ती पुतलिकाठ र मैनापोखरी क्षेत्रपा सडकमा एक एक करोड बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले विनियोजन गरेको बजेटलाई आधार मानेर बागमति प्रदेशले समेत सोही अनुपातमा बजेट उपलब्ध गराएपछि बनेको समपुरक कोषको रकमबाट सडक कालोपत्रेको काम सुरुवात गर्न सहज भएको अध्यक्ष छबि लामाले बताए । ३ सडक आयोजनामध्ये मैनापोखरी–क्षेत्रपा सडकमा भने सडकको ग्रेड उच्च भएकाले ढलानको काम सुरु हुने जनाइएको छ । आगामी आर्थिक वर्ष पनि सुरु भएका सडकमा प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको बताउदै इन्जिनियर केसीले क्रमसँग कालोपत्रेको काम अघि बढाउने जनाएका छन् । ३ वटै आयोजनाको निर्धारित कार्य सम्पन्न हुदा झण्डै ६ करोड खर्च हुने प्रमुख ईन्जिनियर केसीले जनाएका छन् ।
फोटो
स्थानीय तहको नेतृत्वमा जिल्लामै पहिलो पटक कालोपत्रे सुरुवात भएको दोलखाको वैतेश्वरस्थित गोपिखोला गोपीटार सडकखण्ड । तस्बिर सौजन्य ः वैतेश्वर गाउँपालिका ।

याे पढ्न छुटाउनु भयाे की ?

शासक होइन जनताको सेबक भएर काम गर्छुृ – अर्जुन शिवाकोटी गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada

दोलखामा बाल बिवाहा हुन बाट रोक

shyam khatiwada

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजार बगायो, १८ बेपत्ता, २ को मृत्यु

shyam khatiwada
Gaurishankar Post