Gaurishankar Post
ब्रेकिंग

चीनको खासा र केरुङसम्म पुग्ने सिण्डिकेट तोडिँदै, अन्य जिल्लाका व्यवसायीले पनि प्रवेश पाउने


उत्तरी छिमेकी मुलुक चीनको खासाबजार र केरुङसम्म अन्य जिल्लाका व्यवसायीले पनि सहज रुपमा प्रवेश पाउने सुविधा पाउने भएका छन् ।
अहिलेसम्मको व्यवस्थाअनुसार सिन्धुपाल्चोकका व्यवसायी र स्थानीयले खासाबजार र रसुवाका व्यवसायी र स्थानीयले केरुङबजारसम्म जान पाउने गरी विशेष प्रवेश पास सिमाना नाकामा विद्युतीय पास को सुविधा प्राप्त गर्दैआएका थिए । यो दुई जिल्लाबाहेकका स्थानीय, व्यवसायी र ट्रक कन्टेनरसहित चालकलाई खासाबजार र केरुङसम्म जान पाउने गरी प्रवेशमा बन्धेज लागेको छ ।
खासाबजार र केरुङबजारसम्म ति दुई जिल्लाका व्यवसायीको मात्रै ‘कार्टेलिङ र सिण्डिकेट’ हुने गरी विद्यमान नीतिगत व्यवस्थाका कारण अन्य जिल्लाका व्यवसायीले प्रवेश पास नपाउँदा द्विपक्षीय व्यापार प्रभावित हुनुका साथै लागत खर्च पनि अत्यधिक बढेको व्यवसायीहरुको भनाइ छ ।

ति दुवै जिल्लाका व्यवसायी र ट्रक कन्टेनर चालकको कार्टेलिङका चीनसँग द्विपक्षीय व्यापार गर्दैआएका देशभरका व्यवसायीहरु मारमा परेका छन् । चौतर्फी रुपमा यो बिषयमा गुनासो बढ्दै गएपछि सरकारको प्रस्तावमा चीनियाँ सरकारले यो समस्या समाधान गर्न लचिलो भएको छ ।

गत असार ३ र ४ गते चीनको ल्हासामा सम्पन्न नेपाल–चीनको सिजाङ तिब्बत आर्थिक तथा व्यापार प्रवद्र्धन सहजीकरण समिति ९एनएक्सटीएफसी० को १३ औँ बैठकमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ति दुई जिल्लाबाहेक अन्य जिल्लाका व्यवसायी र ट्रक कन्टेनर चालकको हकमा पनि प्रवेश पासको व्यवस्था हुनुपर्ने एजेण्डालाई अघि सारेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर प्रालि, नेपाल हिमालयन सीमापार वाणिज्य संघलगायतकाले पछिल्लो तीन वर्षदेखि चीनसँग द्विपक्षीय व्यापार गर्दै आएका रसुवा र सिन्धुपाल्चोक जिल्लावाहेकका व्यवसायी, ट्रक तथा कन्टेनर चालक र सहचालकलाई खासाबजारका साथै केरुङबजारसम्म पहुँच दिन पासको सुविधा माग्दै आएका थिए ।

नेपालको प्रतिनिधित्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब तथा द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख विपिन आर्चायले खासाबजार र केरुङबजारसम्म अन्य जिल्लाका व्यवसायीले पनि प्रवेश गर्न पाउनुपर्ने बिषयलाई एजेण्डाको रुपमा बैठकमा अघि सारिएको गौरीशंकरपोष्टसँग भने ।

‘अहिलेसम्म चीनको ति दुवै बजारमा सिन्धुपाल्चोक र रसुवाका स्थानीयवासी, व्यवसायी र ट्रक कन्टेनर चालक मात्रै प्रवेश गर्न पाउने गरी पास उपलब्ध गराउने सुविधा दिइएको छ,’ सहसचिब आचार्यले भने,‘यसले गर्दा ति दुवै जिल्लाका व्यवसायी र ट्रक कन्टेनर चालक मिलोमतो गरेर कार्टेलिङ र सिण्डीकेट कायम गरेको चौतर्फी रुपमा ठूलो गुनासो आइरहेको छ । उनीहरुको सिण्डीकेटका कारण अन्य व्यवसायीको लागत खर्च पनि निक्कै बढ्दै गएकाले हामीले अन्य जिल्लाका व्यवसायी र ट्रक कन्टेनर चालकले पनि प्रवेश गर्न पाउने पासको सुविधा पाउनु पर्छ भनेर बैठकमा एजेण्डाको रुपमा अघि सारेका छौं ।’

बैठकमा चीन सरकारको नेतृत्व गरेका सिजाङ जनसरकारका उप–महासचिव वाङ चिचुनले यो बिषयमा आवश्यक गृहकार्य गरेर आगामी एक वर्षभित्रमा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने नेपाली पक्षलाई आश्वासन दिएका थिए । चिनियाँ प्रतिनिधिमण्डलमा सिजाङको वाणिज्य विभाग, परराष्ट्र कार्यालय, चिनियाँ भन्सार विभाग तथा अन्य सम्बन्धित निकायका उच्च अधिकारीहरू सहभागी थिए ।

‘हाम्रो एजेण्डाप्रति गम्भिर हुँदै चिचुनले यो वर्षभित्र गृहकार्य गरेर आगामी वर्षदेखि नीतिगत व्यवस्था गरी अन्य जिल्लाका व्यवसायी र ट्रक कन्टेनर चालकको हकमा पनि प्रवेश गर्न पासको सुविधा उपलब्ध गराउन तयार भएका छन्,’आचार्यले भने ।

नेपाली पक्षले बैठकमार्फते काठमाडौं–ल्हासा यात्रुवाहक बस सेवा सुरु, कृषिजन्य वस्तुहरु ९च्याउ, दुग्धजन्य उत्पादन र यार्सागुम्बालगायत० को निर्यातमा सहजीकरण गर्न र त्यसका लागि एग्रिकल्चर ट्रेड फोकल एजेन्सी तोकिदिन आग्रह गरेको थियो।

यसैगरी चीनबाट आयात हुने सामानको ‘इनभ्वाइस’ चीनियाँ भाषामा मात्रै हुने भएकाले त्यसलाई चीनियाँ भाषासहित अंग्रेजी भाषामा समेत उल्लेख हुनुपर्ने आग्रह नेपाली पक्षले गरेका छन् । यस्तै रसुवागढी र तातोपानी नाकाबाट आयात हुने सामानलाई सुरक्षित रुपमा लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले बण्डेड वेयर हाउस निर्माण गर्नुपर्ने बिषयलाई पनि नेपाली पक्षले बैठकमा उठाएको सहसचिब आचार्यले जानकारी दिए ।

बैठकमा नेपाली पक्षले विशेषगरी आरनिको राजमार्गको स्तरोन्नति र मुस्ताङ ९कोरला०, ओलाङचुङगोला र किमाथाङ्काजस्ता सीमा व्यापार केन्द्रहरूको पूर्वाधार सुधारको बिषयलाई एजेण्डाको रुपमा उठान गरेको थियो । साथै भुक्तानी सम्बन्धी समस्या समाधान गर्न नेपाल र चीनको सिजाङबीच वित्तीय सहकार्यको सम्भावनाबारे पनि छलफल भएको थियो ।

यसका साथै हरेक वर्ष आयोजना हुँदै आएको ‘चीन–नेपाल आर्थिक तथा व्यापार मेला’को नाम परिमार्जन गरी ‘चीन सिजाङ–नेपाल आर्थिक, व्यापार तथा लगानी एक्स्पो’ राख्ने प्रस्ताव बैठकले अघि सारेको थियो ।

नेपाली टोलीले बैठकमार्फत चीनबाट आउने मालवाहक सवारीलाई सोझै नेपाली भन्सारसम्म ल्याउन पाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए । अहिले रसुवागढी नजिकै र तातोपानीको मितेरी पुलनजिकै सामान झारेर फेरि नेपाली ट्रकमा लोड गर्नुपर्ने बाध्यताले व्यापार लागत खर्च बढेको नेपाली अधिकारीले बैठकमा चीनियाँ अधिकारीलाई जानकारी गराएका थिए ।

चीनियाँ नीतीअनुसार अहिले अध्यागमन कार्यालयले खासाबजार र केरुङबजारसम्म जान पाउने गरी स्थानीय वासिन्दा र व्यवसायीलाई ३० किलोमिटर भित्रसम्मको लागि एक वर्षे प्रवेश पासको सुविधा उपलब्ध गराउँदै आएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्कीका अनुसार चीनको केरुङबजारसम्म रसुवावासी र तातोपानीको खासाबजारसम्म सिन्धुपाल्चोकको स्थानीयबासीबाहेक अन्य जिल्लाका व्यापारी, आयातकर्ता, चालक, सहचालक र व्यवसायीका प्रतिनिधीको हकमा प्रवेश गर्ने पासको व्यवस्था नगरिंदा अहिलेसम्म चीनको व्यापारीको विश्वासको आधारमा सामान आयात भइरहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दिपजंग सहकारीको साधारण सभा, अध्यक्षमा कर्ण थामी चयन

shyam khatiwada

दोलखाली पत्रकारको आइसुलेसनमा गौरीशंकर बिजनेस ग्रुप जापानको सहयोग

shyam khatiwada

पर्यटन प्रवद्र्धनका लागि फागुन १९ देखि दोलखा महोत्सब हुने

shyam khatiwada
Gaurishankar Post