श्याम खतिवडा
लाछे्यवोर (रामेछाप) ३० माघ,,
रामेछापको उच्च हिमाली क्षेत्र लाछ्योवरमा निर्माणाधिन नुप्चे—लिखू जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ ।
भीजन इनर्जी एण्ड पावर लिमिटेडले प्रबद्र्धन गरेको ५७.५ मेगावाट क्षमताको नुप्चे—लिखू जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु भएको हो । बुधबार दिउँसो नुप्चे खोला र लिखू खोला जोडिने सुरुङको बिच भागमा बाँकी खण्ड फुटाएर औपचारिक रुपमा ब्रेक थ्रु गरिएको थियो । मंगलबार साँझसम्म दुवैतर्फबाट सुरुङ निर्माण गरी बाँकी रहेको ४.३७ मिटर सुरुङ बुधबार दिउँसो छेडिएको हो । बुधबार नुप्चे—लिखु जलविद्युत आयोजनाको प्रबद्र्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले स्वीच थिचेर विष्फोट गराएपछि सुरुङ छिचोलिएको हो ।
बुधबार सुरुङ छिचोलिएपछि नुप्चे खोलादेखि लिखु खोलातिरबाट आएको सुरुङ जोडिने ठाउँसम्मको १ हजार ५ सय ९९ मिटर मुख्य सुरुङ खुलेको आयोजनाले जनाएको छ । आयोजनाको प्रबद्र्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष टिएन आचार्यले बुधबारको सुरुङ ब्रेक थ्रु भएसँगै अब निर्धारित समय, र तोकिएकै लागतमा आयोजना निर्माण सम्पन्न हुने जनाएका छन् ।
दुई वटा खोला नुप्चे र लिखुको पानी मिसाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको आयोजनाको दुई वटा हेड वक्र्स छ । लिखुतर्फको हेडरेस सुरुङको ‘ब्रेक थ्रु’ गत जेठ पहिलो सातामा भैसकेको छ । दुई वटै हेड वक्र्सबाट करिब ७ हजार ४ सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्नेमा आयोजनाले हालसम्म ६ हजार ८ सय ५६ मिटर सुरुङ निर्माण गरिसकेको जनाइएको छ । बाँकी ५ सय ९० मिटर सुरुङ निर्माणको कामपनि ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिए । आयोजनाको ३०० मिटरको ठाडो सुरुङ (भर्टिकल साफ्ट) को ‘ब्रेक थ्रु’ यस अघिनै भइसकेको कम्पनीका महाँप्रबन्धक रमेश अधिकारीले बताए । लिखु खोला र नुप्चे खोलाको पानीलाई मिसाएर नुप्चे—लिखु जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्ने लक्ष्यका साथ २०७८ असोजदेखि यो आयोजना रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधिन छ ।
सुरुङ निर्माणको काम अन्तिम चरणमा
आयोजनाको लागि कुल ७ हजार ४ सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्छ । यि सुरुङ मध्ये २९५ मिटर मुख्य सुरुङ निर्माणका लागि अडिट सुरुङ निर्माण गरिएको महाप्रबन्धक रमेश अधिकारीले बताए । उनले आयोजनाको जम्मा सुरुङमध्ये हालसम्म ६ हजार ८ सय ५६ मिटर सुरुङ निर्माण भैसकेको र अब ५ सय ९० मिटर मात्रै सुरुङ निर्माण गर्न बाँकी छ । अडिटदेखि उत्तरतिर ३०० मिटर सुरुङमा दुवै खोलाको पानी आउने सुरुङ जोडिने र ति सबै सुरुङ निर्माण भएकाले अब लाइनिङ र सटक्रिटको काम सुरु हुने उनले बताए ।
दक्षिणतिरको २७५० मिटर सुरुङ मध्ये बाँकी सुरुङ आगामी जेठ भित्र ब्रेकथ्रु गर्ने अधिकारीले बताए । आयोजनाको ४० ५१ मिटर पेनस्टक पाइप मध्ये अब ४ सय मिटर मात्रै जडान हुन बाँकी छ । विद्युत गृहमा उपकरण जडानको काम पनि धमाधम जारी छ । आयोजनाको समग्र प्रगति ८४ प्रतिशत भएको छ । आयोजनाको २०८२ साउन अन्तिममा विद्युत उत्पादन गर्ने लक्ष्य रहेकोमा कुनै ठूलो समस्या नआए निर्धारित समयमै आयोजना पूरा गर्ने उनले जानकारी दिए ।
देशको सबैभन्दा बढी उचाईमा निर्माण भइरहेको यो आयोजनाको ८४ प्रतिशत निर्माण पूरा भइसकेको छ । यस आयोजनाको बाँध समुन्द्र सतहदेखि ३३५० मिटर र विद्युतगृह करिब २७०० मिटर उचाइमा पर्दछ । लिखुतर्फको हेड वक्र्सको काम ९९ प्रतिशत पूरा भएको छ । नुप्चेतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । दुवै हेड वक्र्सको काम आगामी फागुनभित्र सम्पन्न गर्ने गरी तिब्रताका साथ अघि बढाइएको महाप्रबन्धक अधिकारीले जानकारी दिए । यो आयोजना उच्च हिमाली क्षेत्रमा निर्माण भएका संसारका थोरै जलविद्युत आयोजना मध्ये पर्ने उच्च हेड भएको आयोजना हो । आयोजनाको खुद हेड १००५ मिटर रहेको छ ।
आयोजना सम्पन्न गर्न १० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा माछापुच्छ्रे बैंकको अगुवाईमा हिमालयन बैंक, बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कुषि विकास, एनसिसी बैकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ ।
फोटो
ब्रेक थ्रु गर्न विस्फोटक पदार्थ पड्काउने बटन थिच्दै कम्पनीका महाँप्रबन्धक रमेश अधिकारी ।


