Gaurishankar Post
नेपाल समाचार राजनीति

कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका फेरबदल

काठमाडौं २९ जेठ

कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका फेरबदल गरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा शनिबार अपराह्न बसेको शीर्ष नेताहरूको बैठकले भदौमै महाधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गर्ने निर्णय गरेको हो । 

बैठकले शीर्ष नेताहरूका बीचमा नयाँ कार्यतालिकाबारे साझा धारणा बनाएर केन्द्रीय समितिमा आगामी बैठकमा प्रस्तावको रूपमा पेस गर्ने निर्णय गरेको छ । बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव पारित गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । 

उनका अनुसार केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिनका लागि २० असारसम्मको समय पाएको छ । समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ । ‘यो अनौपचारिक बैठक हो, यहाँ एउटा मोटामोटी साझा धारणा बनेको छ । यो आगामी केन्द्रीय समिति बैठकबाट पास भएपछि कार्यान्वयनमा जान्छ,’ डा. महतले भने । 

यसअघि कांग्रेसले ७ देखि १० भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो । तर, सो कार्यतालिकाअनुसार पूर्वतयारी गर्न नसकेपछि पुनः नयाँ कार्यतालिका बनाएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको तयारी भएको भए ५ असारबाट तल्ला तहको अधिवेशन सुरु हुनुपर्ने हो ।
 

याे पढ्न छुटाउनु भयाे की ?

एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत

shyam khatiwada

नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्यमा दोलखाका नेता हरिबाबु अर्याल नियुक्त

shyam khatiwada

सहकारीको बचत लुटेर भागेका १८ जनालाई सम्पर्कमा ल्याउन छानबिन समितिको निर्देशन

shyam khatiwada
Gaurishankar Post