दोलखा १५ फागुन,,
जिल्लाको भीमेश्वर नगरपालिका ३ बस्ने युवाद्धय १६ वर्षिय साहील तामाङ र २० वर्षका पुस्कर थामी एक आपसका निकट मित्र हुन् । विद्यालय जान छोडिसकेका उनिहरु फुर्सदमा जंगल जाने र गुलेलीको प्रयोगले चराहरुको शिकार गर्ने, काम हँदा चरिकोट बजारकै खानेपानी लाइन बिस्तार गर्ने कम्पनीमा ज्यामी काम गर्थे । उनिहरुसँग अर्का दुई नाबालक साथीहरु पनि थिए । नाबालकमध्ये एउटाको उमेर ११ वर्ष र अर्कोको १३ वर्ष थियो ।
अघिल्लो हप्ताको शनिबार पुस्कर र साहिल दुबैको काम थिएन , काम नभएपछि दुई नाबालक साथिहरु सहित चारै जना चरिकोट भन्दा तलको जंगलमा चरा मार्न जाने सल्लाहा भयो । पुस्कर र साहिलका बिचमा केही समय अघिदेखि सामान लेनदेनका विषयमा मनमुटाब थियो । प्रहरीका अनुसार पुस्करको दुई हजार पाँच सय रुपैंयाको स्पिकर÷उफर साहिलले लगेको र पटक पटक फिर्ता माग्दा नदिएकोले उनिहरुबिचको दुरी बढ्दै गएको पुस्करले बयानमा भनेका छन् ।
पुस्करले दुई नाबालकहरुसँग साहिललाई साउथ इण्डिएन फिल्मी स्टाइलले मार्ने र टेप लगाएर एकान्त जंगलमा गाड्ने योजना सुनाएका थिए । उनले बजारकै एक मेडिकलबाट मोटो ब्याण्डेज टेप किनेर बोकेका रहेछन् । योजना सुनेपछि थोरै प्रलोभनमा परेर दुई नाबालकले सहमति जनाएसँगै शनिबारको कार्यक्रम सुरु भयो । साहिल र पुस्कर सहित चार जनाको टोली करिब ११ बजेतिर चरिकोट बजार भन्दा तल्लो भागको जंगलतर्फ लागे । भीमेश्वर ३ को तल्लो भालुखोला भन्दा झण्डै १ सय मिटर तल जंगलमा उनिहरुले गुलेलीको प्रयोग गरि एउटा चरा मारे र आगोमा पोलेर बाँडीचुँडी खाए । चराको मासु खाइसकेपछि पुस्करले उफर फिर्ता दिन साहिललाई प्रेशर गर्दै भने दिन्छ भने दे नत्र आज मर्छस भनेर धम्क्याए । तर साहिलले नदिने भनेपछि पुस्करले छेउमा भएको बलीयो डण्डी टिपेर सिधै टाउकोमा प्रहार गरेपछि साहिल ढलेको र दुई नाबालकलाई हात र खुट्टा समाउन लगाएर उनले अनुहारमा पुरै टेप टाँसे । एकान्त जंगल भएकाले साहिल चिच्याउदा पनि कसैले सुनेन । उनको नाक , मुख , आँखा सबै बन्दहुनेगरि ब्याण्डेज टेप लगाएर हात र खुट्टा समेत बाँधी जिउदै गाडेर उनिहरु घर फर्किएको प्रहरीसँगको बयानमा खुलेको छ । प्रहरीसँगको बयानमा पुस्करले साउथ इण्डिएन फिल्मको सिको गरेरै साहिलको हत्या गरेको बताएका छन् । जिउदै गाढेका उनको निसास्एिर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई छ ।
साहिलको स्थायी घर भीमेश्वर नगरपालिका २ स्थित फुलपा भन्ने गाउँमा पर्छ , पहिलैदेखि बाबु आमाबिच राम्रो सम्बन्ध नभएको र राजधानी काठमाण्डौमा भएकाले उनि चरिकोटमा हजुरआमासँग बस्थे । धेरैजसो साथीभाइसँग बाहिरै बस्ने भएकाले उनको खोजी समेत भएन । शुक्रबार सोही जंगल नजिकैको बारीमा बाँदर आएपछि बाँदर धपाउन गएका स्थानीयले साहीलको शव गाडीएको ठाउँमा कुकुरले तान्दै गरेको देखेपछि गाउँलेले भीमेश्वर ३ का वडाअध्यक्ष हरिशरण शिवाकोटीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । एक साता माटोमा गाढेको उनको शव अन्यत्र बिग्रीन लागेपनि बलियो गरि टेप लगाइएकाले टेप खोल्दा अनुहार चिनिने थियो ।
प्रहरीले शवको पहिचान गर्न सोधखोज गरेसँगै केही बेरमा परिवारले थाहा पायो । हजुरआमासँग बस्दै आएकी साहिलकी दिदी चिच्याउदै प्रहरी कार्यालय पुगिन र उनकै सुचनाका आधारमा पुस्कर सहित दुई नाबालकलाई प्रहरीले तत्कालै नियन्त्रण गरि अनुसन्धान सुरु गरेको र ४ घण्टा पछि घटनाको सबै विवरण खुलेको दोलखाका प्रहरी प्रमुख डिएसपी गंगा प्रसाद पौडेलले जानकारी दिए । साहिलको शवलाई थप पोष्टमार्टमका लागि राजधानी पठाइएको छ । हत्या जस्तो जघन्य अपराध गर्दापनि पुस्कर र दुई नाबालक ढुक्कका साथ स्विकारीरहेका छन् । पारिवारिक अवस्था कमजोर रहेको र परिवारको नियन्त्रण समेत नभएकाले उनिहरु चोरी काममा समेत लाग्ने गरेको प्रहरी प्रमुख पौडेल बताउछन् ।