सुरुङमा पानी छिरेपछि ५ बस्तीका ९ मुहान सुके , ६८ परिवारको बिचल्ली दोलखा(शहरे) २७ माघ हिमाल पावर लिमिटेडले प्रबद्र्धन गरेको ६० मेगावार्टको खिम्ति जलविद्युत आयोजनाका कारण दोलखाको तामाकोसी गाउँपालिकास्थित शहरे गाउँका ५ वटा बस्तीमा खानेपानीको हाहाकार भएको छ । जलविद्युत आयोजनाले निर्माण गरेको भुमिगत सुरुङका कारण बस्तीमा भएका मुहानहरु क्रमश सुक्दै गएपछि शहरेका ५ वटा बस्तीमा खानेपानीको चरम संकट सुरु भएको हो । २० वर्ष अघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको खिम्ति जलविद्युत आयोजनामा निर्माण भएका लामा लामा भुमिगत सुरुङका कारण खासगरी भुकम्प पछिबाट बस्तीका मुहानहरु सुक्दै गएका थिए । मुहान सुकेर खानेपानी संकट सुरु भएपछि आयोजनाले भोटेछाप सुरुङहुदै बगेको पानी प्रविधिको प्रयोग गरी बस्तीहरुमा वितरण गरेको थियो । तर पछिल्लो समय विद्युत उत्पादनमा पानी कम भएको भन्दै सुरुङमार्गबाट वितरण गरिएको पानीको लाइन काटिदिएपछि शहरे गाउँका ५ वटा बस्तीका स्थानीयहरु काकाकुल बनेका छन् । बैकल्पीक व्यवस्था समेत नगरी ५ दिन अघि आयोजनाका पदाधिकारीहरुले खानेपानीको लाइन काट्दा ६८ परिवारको बिचल्ली भएको स्थानीय चन्द्र बहादुर बस्नेतले गुनासो गरे । उनले आफु लगाएतका उपभोक्ताहरुलाई जानकारीनै नगराई आयोजना र जनप्रतिनिधि समेतले खानेपानीको लाइन काटेपछि बिचल्ली भएको बताएका छन् । सुरुङमार्गबाट वितरण गरिएको पानी शहरेको फुयालथुम्काका २२ घरधुरी, पौवाका ११ धुरी, खिम्तिडाँडाका २२ घरधुरी, ज्यामिरेका ९ धुरी र च्यानडाँडा बस्तीका ४ घरधुरीका स्थानीयहरुले प्रयोग गर्दै आएका थिए । तर आयोजनाले खानेपानीको लाइन काटिदिएपछि अहिले ति बस्तीहरु काकाकुल बनेको खिम्ति ग्रामिण विद्युत सहकारीका उपाध्यक्ष समेत रहेका स्थानीय भुवन केसीले बताए । उनले मौलिक हकका रुपमा रहेको स्वच्च पानी पिउने अधिकारलाई कसैले पनि हनन गर्न नमिल्ने बताउदै तत्काल खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
५ बस्तीका ९ वटा मुहान सुके काकाकुल बन्यो गाउँ
सुरुङमाथी रहेका पानिका मुहान यसैपनि क्रमश घट्दै गैरहेको बेला ०७२ का ३ शक्तिसाली भुकम्पका कारण शहरे गाउँका ९ वटा मुहान सुकेको स्थानीय ८० वर्षिया अम्बर बहादुर सुबेदीले बताए । उनले आयोजना नबनुन्जेल प्रयाप्त पानी भएको बस्तीहरुमा सुरुङ बनेपछि बिस्तारै घट्दै गएको र भुकम्प पछि त पुर्णरुपमा बन्द भएको उनको तर्क छ । भुकम्प पछि फुयालथुम्काका ३ वटा मुहान, ज्यामिरेको एक मुहान, पौवा खिम्तिडाँडा र च्यानडाँडाका ५ वटा मुहान सुकेको अर्का ७८ वर्षिया जेष्ठनागरिक उत्तर बहादुर सुबेदीले बताए । भएका मुहान सुकेको र खाइरहेको पानी समेत आयोजनाले बन्द गरिदिएपछि यी बस्तीहरु काकाकुल बनेका छन् । बैकल्पीक व्यवस्थाका लागि आयोजनाको ५० लाख अनियमितता भएको आरोप
खिम्ति जलविद्युत आयोजनाले उल्लेखित बस्तीहरुमा खानेपानीको वैकल्पीक व्यवस्था गर्न भन्दै ५० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट अन्य बस्तीहरुलाई समेत खानेपानी व्यवस्था गर्न बनेको वृहत शहरे खानेपानी उपभोक्ता समितिलाई उपलब्ध गराइएको आयोजनाले जनाएको छ । समितिले उक्त बजेट खानेपानी अभाव भएका ५ बस्तीलाई पानी खुवाउने भन्दै शहरे रंगशाला नजिकैको खोल्सीमा डिप बोरिङ निर्माण गरेको छ , तर सो बोरिङबाट पुरै लेदो जस्तो पानी निस्किएको छ । सोही पानी देखाएर उपभोक्ता समितिले आयोजनाबाट भुक्तानी लिइ थोरै काम गरेर उपभोक्ता समितिले आर्थिक अनियमितता गरेको स्थानीय शिब कुमार श्रेष्ठले बताए । आयोजनाको समेत मिलेमतोमा उपभोक्ताहरु सँग विना छलफल, सार्वजनिक सुनुवाई समेत नगरी, सडक छेउमा एक कोठे भवन बनाइ, अन्दाजी ७० फिट गहिरो डिप बोरिङ खनेर रकम भुक्तानी लिएको आरोप स्थानीयहरुले लगाएका छन् । उनिहरुले पहाडी क्षेत्रमा डिप बोरिङ् खन्दैमा सजिलै पानी नआउने भन्दै आयोजनाबाट रकम भुक्तानी लिन चिम्थली मुहानको पानी मिसाएर देखाउनका लागि उपभोक्ता समितिले फट्याई गरेको बताएका छन् । यता उपभोक्ता समितिका पदाधिकारीहरुले भने सबै भुक्तानी लिइनसकेको र आरोप सत्य नभएको जनाएका छन् । समितिका अध्यक्ष उद्धब खातीले आयोजनाबाट ३३ लाखमात्रै बजेट लिएको र उक्त बजेटबाट २८ सय मिटर पाइप खरिद। ट्यांकी निर्माण र डिपबोरिङ निर्माण गरिएको बताए ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षको फरक मत
तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले खानेपानी अभाब भएका बस्तीहरुमा चिम्थली मुहानको पानी खुवाउनुको विकल्प नभएको बताएका छन् । उनले सँधैभरी जलविद्युत आयोजनाको सुरुङमार्फत पानी खुवाउन पनि उपयुक्त नभएको भन्दै चिम्थली मुहानको पानी समानुपातिक ढंगले वितरण गर्नुपर्ने जनाएका छन् । उता गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले भने पानी अभाव भएका स्थानीयमाथी आयोजनाले चरम लापरबाही गरिरहेको जनाउदै मानिसको नैसर्गिक वा मौलिक अधिकारको रुपमा रहेको पानी पिउने अधिकारमाथी हनन गरेको जनाएकी छन् । उपाध्यक्ष सुबेदीले प्राकृतिक स्रोतको दोहन गरी पानीको मुहान सुकाउने आयोजनामाथी कानुनी कारबाहीको समेत माग गरेकी छन् । उनले पहाडी भुगोलमा डिप बोरिङ दिर्घकालिन नभएको र चिम्थली खानेपानी आयोजनाबाट पनि प्रयाप्त पानी नपुग्ने भएकाले लिफ्टीङ मार्फत बेग्लै आयोजना सञ्चालन गरी प्रभावित बस्तीका नागरिकलाई पानी खुवाउनुपर्ने उनको भनाई छ ।
आयोजनाको कारण नभै भुकम्पले मुहान सुकेको हो – आयोजना
खिम्ति जलविद्युत आयोजनाका प्लान्ट मेनेजर श्याम भट्टले आयोजनाका कारण नभै भुकम्प पछि बस्तीका मुहान सुकेको जनाएका छन् । उनले जे जसरी भएपनि बस्तीका मुहान सुकेपछि स्थानीयलाई सुरुङमार्फत टनेलको पानी खुवाउदै आएको स्विकार्दै टनेलको पानी पनि पिउन योग्य नभएकाले वैकल्पीक व्यवस्था गर्न आबश्यक बजेट व्यवस्था गरेरमात्रै लाईन काटिएको जनाएका छन् । मेनेजर भट्टले डिप बोरिङको पानीलाई प्रशोधन गरेर खान सकिने बताए । प्राकृतिक स्रोतको प्रयोग गर्दा स्थानीयको पानी पिउने अधिकार नै हनन गर्न मिल्छ त ? भन्ने नयाँ पत्रिकाको प्रश्नमा भट्टले भने आयोजनाका कारण मुहान सुकेको होइन तैपनि बस्तीमुनी हाम्रो सुरुङ भएकाले हाम्रो दायीत्व छ त्यसैले बैकल्पिक बजेटको व्यवस्था गरेका हौं, स्थानीयहरुले समाधान सहितको विकल्प ल्याय हामी अध्ययन गर्छौ र निकासका लागि छलफल गर्छौं । भट्टले उपभोक्ता समितिको अनियमितताबारे प्रश्न गर्दा आफुलाई जानकारी नरहेको बताएका छन् ।
फोटो क्याप्सन १, खानेपानी अभाव भएपछि काकाकुल बनेको शहरेको खिम्तिडाँडा गाउँ ।